पं नारायण देवकोटा
नेपालको राजधानी काठमाडौंबाट ११० कि.मी. उत्तरी दिशामा पर्ने रसुवा जिल्ला लाङटाङ हिमाल र गोसाईंकुण्ड धार्मिक तीर्थस्थल रहेको जिल्लाको रूपमा चिनिएको छ । जातीय तथा भाषिक दृष्टिकोणले तामाङ जातिको बाहुल्यता रहेको यस स्थान अशिक्षित तथा सोझासाझा जनताको आश्रयस्थल, गरिवी, वेरोजगारी, कम उत्पादनमूलक भूमि तथा अति विकट पहाडी जिल्लाको रूपमा चिनिँदै आएको छ । रसुवाको भौगोलिक विकटताले एकातिर प्रतिकूल असर पारिराखेको छ भने अर्कातिर राजनीतिक, सामाजिक र आर्थिक अवस्थाले रसुवालीको दिनान्दिनी माथि असहजता थपिराखेको छ । इतिहासदेखि नै यिनै रसुवाली जनताको सोझोपनको फाईदा वरिपरिका टाठाबाठा र लाउकेहरूले लिईराखेका तीतो यथार्थता आज पनि विद्यमान छ । न खेतीजन्य जमिन न खपतयोग्य वजार न त रोजगार नै छ,, यी केही पनि नभएको कारण रसुवालीको प्रगतिमा ताल्चा लागेको छ । केही दशक अघिसम्म शैक्षिक उन्नयनको निम्ति गाउँ गाउँका विद्यालयमा विशेष गरी तराई तथा अन्य छिमेकी जिल्लाका जनशक्ति खपत हुने जिल्लाको रूपमा रसुवा अगाडि रहेको छ । मध्यम तथा उच्चस्तरको जागिरको निम्ति योग्यताको अभाव र निम्नतहको लागि पहुँचको अभावका कारण रसुवालीले ती अवसरहरूमा त्यति प्रवेशको अवसर प्राप्त गर्न सकेनन् । गाउँघरका छोटे राजाहरूको एकछत्र राजका कारण यी निमुखा जनताको जीवनस्तर कहिल्यै माथि आउन सकेको छैन र ती राजाहरूले जीवनस्तर उठेको हेर्न सक्दैनन र चाहादैनन् पनि ।
राजनीतिक अस्थिरताको कारण अवसरवादीहरूको चलखेलले प्रशस्त वजार प्राप्त गरिराखेको छ । स–सानो रोजगारीको निम्ति पनि आयातित जनशक्तिलाई भर्ना गर्ने प्रणाली रहेको कारणले गर्दा आजसम्म पनि रसुवावासीले त्यसको दुस्परिणाम भोगिरहेका छन् । प्रारम्भिक परिपाटी विग्रेकै कारणले होला रसुवा “जहाँ कंगाल, त्यहाँ चण्डाल” भने झैं आजसम्म पनि स्वाभिमान र स्वतन्त्र रूपमा ठडिन सकेको छैन । दुःख सुख गरी आफूले आर्जन गरेको ज्ञान र बौद्धिकताको सही उपयोग आफ्नै माटोमा गर्छु भन्नेले पनि अवसर पाउने अवस्थाको सिर्जना भएको छैन । बौद्धिकता, ईमान्दारिता, परिश्रम र आस्था अनि वैचारिक मान्यतामा विश्वास गर्नेहरूमाथि केही स्थानीय छोटे राजाहरूको वक्रदृष्टि छ । गाउँका सिंह बनेर रहेका यिनीहरू स्वार्थका पुजारी छन र छेपारे प्रवृतिको तालिममा निपूर्ण छन । राजनीतिक विस्कुन चोर्न पल्केका यी छेपारेहरू वर्षा र वाढीमा गोही वन्न र खडेरीमा मरूभूमिको उँट बन्न खप्पिस छन । अनिकालको अभाव टार्न बेसाएर ल्याइएका केही शिक्षकहरू यिनीहरूकै मिलेमतोमा आफ्नै ल्याकतलाई भुलेर आफैं लुई चौधौ बनिरहेको स्पष्ट रूपमा देख्न पाइन्छ । छोटे राजाहरूले यिनीहरूलाई अर्ति उपदेश, राजनीति, कुटनीति, आर्थिक आदि विविध पक्षमा सल्लाह सुझाव दिन आन्तरिक रूपमा नियुक्ति नै गरे सरह छ । दुःखजिलोका साथ घर छाडी उच्च शिक्षा हासिल गरेर आफ्नै जिल्लामा सेवा दिन चाहने जिल्लाका केही युवायुवतीहरूलाई ती लुई चौधौंहरू यमराज ठान्छन र टाठाबाठा अधिकारवालाको कान भर्नमा नै व्यस्त रहन्छन । सायद हिजो उनीहरूले नै “कखरा” सिकाएका विद्यार्थीहरू आफूभन्दा वढी योग्यता हासिल गरी त्यही सेवा गर्ने आशा राख्दा उनीहरू इष्र्याले भुतुक्क हुन्छन र जतिसुकै दक्ष र योग्य भए पनि जिल्लावासीलाई वरपर रहेको नै देख्न चाहदैनन् तथा खिसिट्यूरी र उपहास गर्न मच्चिएरै लागिपरेका छन । यही हाम्रो रसुवा पिएर उनीहरूका जवानी निख्रे, बूढा भए, पेन्सन पकाए तर पनि जागिर छाड्न सक्दैनन् । उनीहरूको स्थानमा एउटा निरन्तर विश्वविद्यालय गएर योग्यता पुगेका ताजा र सक्षम युवा आएर विद्यार्थीको मनोविज्ञान अनुकूल आधुनिक ज्ञान र प्रविधियुक्त शिक्षा प्रदान गर्न सक्थे, ख्यै तिनलाई अवसर ? वास्तवमा यी चौधौंहरू संसारमा आफूभन्दा महान्् र जान्ने कसैलाई पनि ठान्दैनन् र कालले अंकुश नलगाएसम्म लुटको खेती गर्न छोड्दैनन् । यी बौद्धिक दरिद्र र धन पिपासु दार्हा र नङ्ग्रा खुस्केका ग्राम सिंहवत छोटे राजाहरूको तासको खाल र भट्टीका सहयात्री पनि हुन् । उनीहरूले निम्ता दिएको पर जिल्लाका व्यक्तिलाई नियुक्ति गर्दा प्रारम्भमा “बोलकवोल” द्धारा नगद फाईदा र त्यसै दिनदेखि आफ्नो हनुमान बनाउन पाईने भएकाले पनि स्थानीय योग्य व्यक्तिहरूलाई उनीहरू आँखाको कसिंगर ठान्दछन् ।
यी लुच्चा र नीचा नेपाली लुई चौधौंहरू गाउँघर फुटाउन र भाइवन्धुत्त्वको भावनामा कुठाराघात गर्न तल्लीन छन । गाउँघरका शिक्षित तथा बुद्धिजिवी र असल बाटोमा लागेका युवाहरूलाई सकेसम्म हतास, पत्तासाफ तथा पलायन बनाउनमै यिनीहरूको ठूलो हिस्सा खर्च भईरहेको छ । यिनीहरू राजनीतिक शक्तिका बाठा कागहरूलाई कोईली बनेर फूल चोर्दै शत्रुका पोथ्रा कोरल्न लगाउन पनि खप्पिस छन । विद्यालयमा ‘शिक्षक आवश्यकता’ भनेर विज्ञापन खुलाइन्छ तर त्यहाँ त्यही ‘लुई’ सर्वशक्ति सम्पन्न हुन्छ । विश्वविद्यालयमा उच्च शिक्षा सकेर आएका प्राज्ञहरूको मूल्याङ्कनकर्ता त्यही घमण्डको राजा लुई चौधौं र उनै बौद्धिक स्तरहीन लठ्ठु ग्रामसिंह र उसका हलीहरू हुन्छन । लुई चौधौं र छोटे राजा तथा ल्याप्चे लगाउने हलीले प्राज्ञहरूको कुन विधि प्रयोग गरी मूल्याङ्कन गर्ला ? त्यसै बेलामा आफूलाई सर्वशक्तिमान ठान्ने राजनीतिक पार्टीको दवाव आउँछ “नियुक्ति राम्रो भन्दा हाम्रो” हुनुपर्नेछ भनेर । मातृभूमिको सेवा गर्न चाहने, प्राज्ञिक क्षेत्रलाई नै आफ्नो जीवनको सर्वस्व ठान्ने र सु–सभ्य समाजको निर्माण गर्न खोज्ने स्थानीय योग्य शिक्षित व्यक्तिहरूको तिरस्कार गरी उनीहरूका पार्टीलाई हरतरहले सघाउने, जहाँको र जस्तोसुकै व्यक्ति भएपनि उसको हातमा नियुक्ति पत्र थामिदो रहेछ । विद्यालय, विद्यार्थी र अभिभावकले यस्तो कृयाकलाप अन्यायपूर्ण हो भन्ने जान्दाजान्दै पनि भाँटा कारवाहीको डरले चुपचाप बस्नु सिवाय अरू केही गर्न सकेका छैनन ।
एउटा समाजसेवामा लाग्ने प्राज्ञिक व्यक्तित्व वास्तवमै सबैको सार्वजनिक उपहार र गहना हो, उसलाई कुनै राजनीतिक पार्टीको झोले बन्नु आवश्यक छैन । एउटै मात्र अनुरोध – समय परिवर्तनशील छ । “कहिले सासुको पालो त कहिले बुहारीको” हुनुपर्ने तर सासुको मात्रै पालो आईरह्यो यहाँ । बुहारीको नयाँ घुम्टो ओढेर सासुले ठगेको ठग्यै गरी ।
रसुवाका ग्रामसिंहहरू र लुई चौधौंहरू २०४६ अघिको पञ्चायत कालमा पञ्चे भएर जनता लुटे । ०४६ का वर्षपछि कांग्रेसी बनेर लुटे, एमालेको युगमा एमाले नै बनेर लुटे भने संकटकालमा सच्चा र राष्ट्रवादी राप्रपा बनेर लुटिरहे । अनि ०६२ पछि माओवादी चहलपहल हुन थाले पछि तिनै राष्ट्रघातीहरू रसुवाको आमूल परिवर्तन गर्ने अग्रगामी तथा साम्यवादी लालसेनाको मखुण्डो लगाएर ब्रम्हालुट गरिरहेका छन । तिनै स्वानमार्गीहरू आज जिल्लाका उच्च स्तरीय योजनाकार, नीति निर्माता, बुद्धिजीवी, सल्लाहकार एवं प्राज्ञ आदि विभिन्न पद र ओहदामा पुगेका छन ।
आ–आफ्नो वैचारिक अडान सर्वत्र पूज्य हुन्छ । विचारको साम्राज्य अभेद्य र अकन्टक पनि हुन्छ । युगीन परिवर्तन र समाजवादी विचारलाई आत्मसाथ गर्दै गरिवीको रेखामुनि छट्पटाइरहेका रसुवालीहरूको मुक्तिको निम्ति हिजैदेखि लागिपरेका र अति कठिन परिस्थितिमा आफ्नो जीवनलाई वलि दिने ती महान् रसुवाली वीर सहिदप्रति म श्रद्धाञ्जली दिन चाहन्छु । व्यक्तिगत स्वार्थ, लोभ लालचा आदिलाई टाढै राखी परिवर्तित साम्यवादी रसुवाको मार्गचित्र सु–संस्कृत तथा समुन्नत रसुवाको तस्विरलाई मुटुभरि हुर्काएर अभैm चिन्तन, मनन र विवेकका साथ कर्मलाई महत्व दिई प्रतिकृयावादी शक्तिहरूसँग स्वच्छ रूपमा अविराम संघर्ष गरिरहेका माओवादी कर्मठहरू प्रति नैतिक शक्ति प्रदान गर्दै उक्त अभियानको सफलताको कामनाका साथ हृदयदेखि नै क्रान्तिकारी अभिभावन गर्न चाहन्छु । तर सही र प्रमाणिक तथ्य हुँदाहुँदै पनि अरूको पृथक विचारमाथि बलात्कार गर्ने, संक्रमणकालीन अवधिलाई शत्रु साँध्ने अवसरका रूपमा लिने, उन्मत्तताको क्रन्दन चर्काउने, विचारमा अडिग व्यक्तिमाथि जाईलाग्ने, क्षमा दिनेहरूलाई काँतर सम्झने, नाङ्गा खुकुरी , तरवार तथा लौरा ताक्दै चन्दा माग्ने र आफ्नो सदस्यता बाँड्ने, अन्य राजनीतिक विचार बोक्नेहरूमाथि रावण नीति लिने जस्ता कु–प्रवृत्ति र जंगली व्यवहारको प्रदर्शनी गर्ने भनेका ती आत्मज्ञानले भरिएका र विचारले पग्लिएका सच्चा माओवादी नभएर स्वार्थसिद्धको लागि मालिकलाई खुशी पार्न खोज्ने नोकरहरू हुन् । जो छेपारे प्रवृत्तिका नयाँ जोगीहरू र तिनीहरूका हनुमान नै हुन । यिनीहरूका प्रदर्शन साम्यवादी आदर्श पुरूषका दर्शन विपरीत छन् । जिल्लाका “चरित्रवान् तथा साम्यकामीहरूलाई चेतना भया” नयाँ जोगीले धेरै खरानी दल्छ भनेझैं गाउँका भ्रष्ट अवसरवादीहरू हिजो “जय देश, जय नरेश” जय नेपाल र लाल सलाम हुँदै आज क्रान्तिकारी लाल अभिवादनमा पुगेका छन । यिनै अवसवादी भ्रष्टका मतियारहरू आज तपाईंका ठानिएका, हिजो कसैका थिए भने भोलि अरू जो कसैका हुनेछन् । तपाईको थुन पग्रुञ्जेल तपाईका नै हुनेछन् र दूध निथ्रेपछि अर्कै थुन पक्रन पुग्नेछन । तपाई निथ्रने बित्तिकै तपाईलाई “जुम्राले छाडेको लाश” झै छाड्नेछन । आफ्नो असली बोटबाट झरेर पतकर बनेकाहरू शक्तिशाली हुन्डरीसँगै उड्नेछन् ।
मुक्तिकामी आदरणीय कमरेडहरू ! यी अवसरवादी खहरेको भेलमा पौडिएर तपाई आफ्नो बीउ नसडाउनुहोस । बुद्धि र विचारको कदर गर्दै स्थानीय शिक्षित युवाहरूलाई प्रतिशोधको उपहार नदिनुहोस् । प्रतिशोध र ईष्र्या हैन महान् जनताको रचनात्मक सेवा गर्ने अवसर दिनुहोस् । प्राज्ञिक वर्गलाई कुनैपनि राजनीतिक दलको खेताला हैन सरस्वतीका पुत्र सम्झनुहोस् । फरक मान्यता र अभिमत राख्ने असल व्यक्तित्वको विचारको कदर गर्नुहोस् । वैचारिक स्वतन्त्रतामा निश्चल उभिएका सामाजिक मानिसहरूका हातमा तपाईको झण्डा हैन दिलमा साम्यवादी आस्था अंकुराउन पे्ररित गर्नुहोस् किनभने साम्यवादी आस्था हुर्किएमा तपाईलाई थप बल मिल्न सक्दछ । उसले कतै नदेखिदोसँग तपाईलाई सहयोग पुर्याएको छ कि ? त्यसको चनाखो भएर आजैदेखि गहन खोजी गर्नुहोस् र यो पनि नविर्सनुहोस्, कतै साम्यवादीका मखुण्डो लाएकाले तपाईकै मर्ममा गंभीर कुठाराघात गर्दै त छैनन् ? राजनीतिक प्रतिशोध र आवेशमा आएर फरक विचार राख्नेलाई सिध्याउन खोज्दा “लामखुट्टे पोल्ने हुँदा घर नै जल्न सक्छ ।” तपाईको आफ्नो गहन प्रतिवद्धतालाई क्षणिक स्वार्थको आधारमा कत्ति पनि डग्न नदिनुहोस् । तपाईको भोक टार्ने खाजा पोल्टामा हुँदाहुँदै पल्लो घरको झ्याँगा तान्न नजानुहोस् त्यसले तपाईलाई उपहासको पात्र बनाउन सक्छ । आफ्नो घरको छानो एक डल्लो ढिडोमा टाल्न खोज्नेलाई छाती फुकाएर छानामा उकाल्नुहोस् । “टाढाको देवता, करेसाको भूत” भनेझैं स्थानीय र योग्य व्यक्ति शत्रु भएर नौ डाँडा पारिको व्यक्ति तपाईको कदापि मित्र वन्न सक्दैन किनकि एउटालाई माटाको माया हुन्छ भने अर्कालाई पाईलैपिच्छे निजी फाइदाको बाला झुलाउने चाहना हुन्छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने– योग्य स्थानीय जनशक्तिलाई अवसरवाट वञ्चित गराई अझै पनि बाहिरवाट जनशक्ति बेसाउने प्रथाले रसुवाका लुई चौधौं र छोटे राजाहरूलाई त गर्व लाग्न सक्ला तर सिर्जनशील र केही गरौं भन्ने भावना भएका उर्वरशील तथा स्वाभिमानी रसुवालीहरूको आत्मविश्वास र छविमा भने गहिरो चोट लाग्नेछ, यी नैतिक घाइते हुनेछन् । सजकताका साथ बेलैमा ती शोषक नेपाली लुई चौधौंहरूलाई सार्वजनिक चोकमा उभ्याइएन भने स्थानीय तथा योग्य नागरिकको जतिसुकै दक्षता र योग्यता भए पनि ऊ अयोग्य नै ठहरिनेछ र “बाघको छालामा स्यालको रजाईं” भनेझैं आगामी पुस्ताले पनि यो रोग व्यहोर्नु पर्नेछ । यसको फाइदा तिनै छेपारे प्रवृत्तिका ग्रामसिंह छोटे राजा र लुई चौधौंहरूलाई पुग्नेछ न कि रसुवाको उन्नति र प्रगति चाहने परिवर्तनकारी योद्धाहरूका लागि ।
एम.फिल. दोश्रो सत्र
कीर्तिपुर, काठमाडौं ।
No comments:
Post a Comment