Sunday, March 24, 2013

ओझेलमा रसुवाका झरनाहरू





हेमनाथ खतिवडा
रसुवा ।
अमुल्य र अपार प्राकृतिक देनहरू मध्ये दृष्यावलोकन पर्यटनमा झरनाले महत्वपुर्ण स्थान ओगटेको हुन्छ । रसुवाको यात्रामा निस्कनु भएको छ भने मौसमी झरनाको दृयले तपाईका मन अवस्य पनि लोभ्याएको हुनु पर्छ । स्वदेशी विदेशी पर्यटक लोभ्याउने यस्ता झरनाको  संरक्षणमा चासो पुगेको छैन ।
रसुवामा गोसाँईकुण्ड,लाङटाङ र तामाङ सम्पदा मार्गमा पर्ने पर्यटकीय क्षेत्रमा देखिने झरनाहरू निकै छन् तर त्यहाँका झरनाहरू ओझेलमा परेका छन् । जलवायु परिवर्तन तथा विकासका पुर्वाधार निर्माणका कारण हुने वातावरणीय प्रभाव, वन बिनासले यहाँका झरनाहरू मासिन खतरा पनि बढेको छ । यहाँ भैरहेका जलाधारहरू सुक्नथालेपछि अव खोलानाला मुहानबाट बग्ने पानी घटेको छ । प्रकृतिको संरक्षण नगरे यस्ता झरनाहरू सुक्ने खतर बढेको डाडाँगाउँका स्थानीय समाजसेवी विनोद पौडेल भन्छन् पर्या पर्यटनमा हिमाल पछि झरनाको महत्व रहन्छ ।
‘ईन्द्रेणी झ्याल जस्ता झरनाहरू विकासका सम्भावनासँगै लोप हुने खतरामा छ् । माथिल्लो त्रिशूली तीन ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि गरिएको विष्फोटक पदार्थको प्रयोगले पानीको मुहानहरू सुक्न थालेको छ ।’ यस्ता प्राकृतिक देनहरूको संरक्षण संर्वद्धन र प्रचारमा चासो दिनुपर्ने पौडेलको भनाई छ । तीनबटा जल विद्युत आयोजना निर्माणको थालनी भएपछि डाडाँगाउँ, ठूलोगाउँ र हाकु क्षेत्रमा प्रकृतिका सुन्दर हरियाली दृष्य माथि यस्ता झरनाले मनोरम दृष्यका पनि ओझल पर्ने खतरा बढेको हो । समयमा यसको जर्गेनाको लागि पहल नगरे एकादेशको कथा बन्न सक्छ स्थानीय शिक्षक साधुराम सापकोटाले भने विकाससँगै विनास पनि आउँदो रहेछ विकासका आयोजना बनाउदा प्राविधिक रुपमा सोच नपुगेकोले खोला नाला झरना मात्र नभै वस्तीहरू पहिरोले उठेका छन् उनले भने ‘जिल्लाका सरोकारवालाहरूको यस प्रति चासो पुगेन । ’
त्यसैगरि गोसाँईकुण्ड मार्गमा पर्ने मनोरम झरना होस वा यार्साको घोर्मु आरुखर्क झरना यस्ता झरनाले मानिसको मन लोभ्याएको छ । प्रचार प्रसार गर्न सके यसले पर्यटक आकर्शण गर्न सक्छ । बाटोको दायाबाया जति सुकै रमणीय दृष्य देखे पनि स्वदेशी तथा विदेशी पर्यटकहरू त्यो झरनाको फोटो खिचेर एक छिन आरामले रोकिएर नहेरी अघि बढ्दैनन् । चारै तिर जंगलको बीचमा गोसाँईकुण्ड तर्फबाट आएको पानी झरेको यो झरनाको वरीपरी उपयुक्त ठाउँ नभएको राम्रो तस्वीर खिच्न सकिदैन । फोटो खिच्ने उपयुक्त ठाउँ नभएकोले पर्यटकहरू यो झरनाको राम्रो फोटो खिच्न नसकेर मन दुखाउँछन् । पासाङल्हामु राजमार्गबाट बरीपरि देखिने झरनाहरुको अहिले घट्दै गएको छ । पहिले हिंउदमा देखिने झरना अहिले वर्षातमा पनि बढेको देखिन्न ।
यस्ता लोपोन्मुख झरना तथा जल स्रोतको संरक्षणमा जिल्ला भू –संरक्षणले कार्यालयले स–साना जलाधार क्षेत्रमा संरक्षण कार्य थालनी गरेको जिल्ला भू–संरक्षण कार्यालय प्रमुख बिष्णु भण्डारीले बताए ।
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित गोसाँईकुण्ड नौ कुण्ड क्षेत्रको सिमसार क्षेत्र र जिल्लाका विभिन्न जलासय सुक्ने क्रम बढेको निकुञ्ज स्थित मध्यवर्ती क्षेत्र संरक्षण सहयोग आयोजनाका प्रमुख गौतम पौड्यालले बताए जलवायु परिवर्तको दृष्टिले रसुवा बढि जोखिममा रहेको क्षेत्रमा पर्दछ र यहाँका जलाधार संकुचित भएका छन् ।

पानीको स्रोत सुक्नाले यहाँका जलासयहरूमा पानी घटेपछि बन, बन्य जन्तु, बनस्पत्ती र जनजीवनमा समेत उत्तिकै असर पारेको हुन्छ । त्यसले आयोजनाले कार्यक्रम जलाधार संरक्षणतर्फ लक्षित गरेको छ । समुदायिक परिचानको माध्यमबाट बृक्षरोपण, चरिचरण रोक्ने, पहिरो रोकथाम तथा नियन्त्रण,स– साना जलाधार संरक्षण कार्यक्रम लक्ष्य गरिएको आयोजना प्रमुख पौड्यालले बताए ।
जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका जलासयमा पानीको सतह घढेको छ । झरना नदि नाला कुण्ड ताल तलैया पानीको सतह बचाउँन चासोका साथ लाग्नु पर्ने स्थानीयवासी बताउँछन् । पुराना ताल, कुण्ड, नदि खोलानाला सुक्दै गएको गत्लाङका समाजसेवी विकास लामा बताउँछन् । भू–क्षय तथा बेमौसमी वर्षा र हिमपातले कृषि उत्पादन घट्दै जान थलेकोले सम्पदाको संरक्षणमा चासो नदिए यहाँका बस्तीमा खतरा उन्पन्न हुने सम्भावना बढेको छ उनले भने ।’
पहाडबाट फैलिएर फिजारिदै मडारिंदै झरेको झरना हेर्न र झरनाको चिसो पानी पिउन मानिसहरु यहाँ आउने गर्दछन् । पासाङल्हामु मार्गमा पर्ने सोले खोला र स्याफ्रको झरनामा क्यामेरा भिजाएर भएपनि विदेशी पर्यटकहरु यहाँ तस्वीर खिचेर फर्कन्छन् । यस्ता लाङटाङ र गोसाईकुण्ड पदयात्रामा मात्र होईन गत्लाङ, चिलिमे र टिमुरे गाविसका बिभिन्न पर्यटकीय गन्तव्यमा मनमोहक झरनाहरु भेटिन्छन् ।
जिल्लाको सिमित स्रोत साधनले पर्यटकीय विकासमा पर्याप्त नभएकोले नीजि तथा सरकारको माथिल्लो तहबाट पनि मनोरम झरना तथा जलका स्रोतहरु जस्ता प्रकृति संरक्षणमा बृहत योजना बनाउन आवश्य रहेको जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत कृष्ण हुमागाई बताउँछन् ।
सरकारी तथा नीजि क्षेत्रले जलासय तथा झरनाको संरक्षणबारे सोच्न नसके यसले पर्यटन व्यावसाय माथिको सौंन्दर्यता घटाउने मात्र होईन पिउने पानी र जीव जन्तुको र धेरै प्राणीको जीवनयापनमा समेत असर पर्न जाने निश्चित छ । पर्यटक आर्कशण गर्ने झरना र सुन्दर हिमाल जलवायु परिवर्तनसँगै विलिन हुँदै जान सक्ने खतरा तर्फ सवैले सजग हुनु पर्ने देखिन्छ ।



No comments:

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...