Sunday, March 24, 2013

संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा रसुवाको दुधकुण्ड


हेमनाथ खतिवडा
टिमुरे , रसुवा

नामाकरण तथा महत्व

नेपाल चीन सिमाना रसुवाको टिमुरे गाविस वडा नं ७ मा पर्ने दुधकुण्डको पानी सामान्य पानी भन्दा सेतो छ । चामल पलाखेको चौलानी जस्तै देखिन्छ । पहिले दुध जस्तौ भएकाले दुधकुण्ड नामाकरण गरिएको जनविश्वास छ । 
कुण्ड कसरी पत्ता लाग्यो भन्ने विषयमा भने कसैको फरक मत छ । स्थानीय उर्केन घले भने ‘तिव्वतको लेन्देबाट आएका गोठालाहरूले देखेर पत्ता लगाएको वताउँछन् । आकाशमा बादल लाग्दा कुण्डको पानी पुरै दुध जस्तै देखिन्छ ।’ 

ऐतिहाँसिक पक्ष

टिमुरेका प्रमुख लामा गुम्वोवाङ्डा लामाका अनुसार दुधकुण्ड स्थानीयले यस कुण्डलाई पेदाङ छो भन्छन् । पूmलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएको लामाले बताए । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् लामाले भने । यहाँ विभिन्न शीलालेखको आधारमा यो निकै पुरानो र निकै महत्वको छ । कुण्डमा बर्षेनी भदौ पुर्णिमाका दिन मेला लाग्दछ । त्यहाँ पुगेको वर्ष झाँक्रीहरूले तीन वर्ष दर्शन गर्न आउने नआउने निक्र्यौल गर्नुपर्ने प्रचलन छ । 
रसुवा जिल्ला र चिनको सिमाना टिमुरे गाविसमा पर्ने दुधकुण्ड संरक्षण र प्रचार प्रसारको नभएर ओझेलमा परेको छ । जिल्ला सदरमुकाम धुन्चेदेखि पाँचदिनमा पुग्न सकिने तिब्बत सिमानामा पर्ने टिमुरे गाविस वडा नं – ७ मा पर्दछ । धार्मिक तथा पर्यटकीय रूपमा निकै प्रसिद्ध र महत्वको रहेपनि संरक्षण र प्रचार प्रसार सरकारी तथा गैरसरकारी तवरबाट प्रयास नहुँदा ओझेलमा परेको हो । बर्षेनी हजारौं विदेशी पर्यटक आउने रसुवामा दुधकुण्ड जाने राम्रो प्रदल मार्ग र टिमुरेदेखि चारदिन लाग्ने बाटो वरपर कुनै वासस्थान नभएकाले विदेशी तथा स्वदेशी पर्यटकहरू दुःखी भएर फर्कने गरेका छन् । 

नेपालमा आउने पर्यटक माझ रसुवाको लाङटाङ निकै प्रख्यात र प्रसिद्ध छ तर लाङटाङ हिमालको काखमा रहेको दुधकुण्ड  प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । सन् २०११ लाई पर्यटकीय वर्षको रूपमा प्रचार भएपनि दुधकुण्ड जस्ता थुप्रै पर्यटकीय सम्भावना बोकेका स्थानमा सम्बन्धित निकायको आँखा पर्न सकेको छैन । पर्यटकीय गन्तब्य मार्गमा राखेर प्रचार प्रसार गर्न सके पदयात्रा बढाएर दुधकुण्डलाई आकर्शक पर्यटकीय गन्तब्यको सूचीमा राख सकिन्छ । 

टिमुरेबाट ४ दिन पैदल हिडेर पुग्न सकिने दुधकुण्ड  समुन्द्री ४ हजार ७ सय मिटर उचाईमा रहेको छ । हिमाली हावाको चिसो सुस्याहट सुरम्य वातावरण धरी धरीका फूलको वासनाले मृग उफ्रेका र डाँफे चरी नाँचे देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएकको महसुस हुन्छ । साँच्चै प्रकृतिका बिभन्न थरीका मनोरम दृष्यहरूले चुनौतीपुर्ण यात्रा नै भए पनि त्यहाँ स्थानमा पुग्ने सबैलाई लाग्न एकपटक पुग्नै पर्ने रहेछ गन्तव्य रहेछ दुधकुण्ड । 

नेपालको मध्यमाञ्चल विकास क्षेत्र भित्र रहेको रसुवा थुप्रै मनोरम पर्यटकीय दृष्यले सजिएको छ । कृतिले नै सिंङ्गारेको लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षीत यो कुण्ड हेर्दा गोसाँईकुण्ड जत्रो देखिए पनि थोरै सानो र आकार केही फरक छ । मनोरम दृष्यले सजिएका कुण्डमा धार्मिक, पर्यटकीयपदयात्रा मार्ग हो । यहाँका प्राकृतिक दृष्य, जैविक विविधताले यो स्थान पुग्ने कसैको पनि मन प्रफुल्लित हुन्छ । हालसम्म यो कुण्डमा पुग्ने भौतिक पुर्वाधार, बाटोघाटो निमार्ण तथा कुण्डको संरक्षणमा कसैले चासो गएको छैन । बिदेशी पर्यटक वा पदयात्राका पारखीहरूले यस यात्रालाई साहसिक पदयात्राको संज्ञा दिएबका छन् ।  दुधकुण्ड  प्रचार – प्रसार नभएर ओझेलमा परेको दुधकुण्ड  युवा क्लबका सचिव पूmर्पुदोर्जे घलेले बताए । उनले भने ‘यहाँका दृष्य हेर्न बिदेशी पर्यटक कमै मात्रामा आउछन् पर्यटकीयसम्भावना रहेकाले यस्ता ओझेलमा परेका सम्पदाको प्रचार र विकास गर्न क्लब खोलेर कम्मर कसेका छौं ।’ 
धार्मिक तथा पर्यटकीयमहत्वको पवित्र तीर्थस्थल दुधकुण्ड एतिहाँसिक रसुवागढी रहेको टिमुरे गाविस टिमुरेमा पर्दछ । यात्रा गर्दा तीर्थयात्रीले एउटै मार्ग भन्दा फरक मार्गबाट फरक दृष्य हेर्न पाईने भएकाले जाँदा घट्टेखोला र फर्कदा खैदीहँुदै टिमुरे फर्कने मार्ग रोज्छन् । पापबाट मुक्ती पाई पुण्य कमाउने आशामा यहाँ भक्तजनहरू कठिनाइपूर्ण यात्रा गरेर भएपनि दुधकुण्ड पुग्छदन् । कुण्डमा गएर एक माग गरेमा पुरा हुने टिमुरेका ईन्द्र थापाले बताए । कुण्डमा नुहाउन डुबुल्की मारेपछि कुण्डको सतहबाट एउटा ढुङ्गा टिप्ने र त्यसलाई जतनसाथ ल्याएर घरमा राख्नाले छोरा नहुनेको छोरा जन्महुने उनले बताए । बच्चा पैदा नभएसम्म घरमा पुजा गरेर राख्नुपर्छ । केहीवर्ष अघि उनले त्यसै गरेपछि छोराको जन्म भयो त्यसैले पुन सुख र शान्तिको कामना गर्दै दुध कुण्ड आएको थापाले भने । दुधकुण्ड  मेला यात्रीले मुलुकमा स्थायी शान्तिको कामना गरे । 

कुण्डै कुण्डको जिल्लाको रूपमा रहेको रसुवामा १ सय ८ भन्दा बढी कुण्ड रहेको स्थानीयबासी बताउछन् । कठिनाई पुर्ण बाटो छ । त्यसैले सहासिक पर्यटक मात्र त्यहाँ जान सक्ने अवस्था छ । बाटोघाटोको निर्माण हुन सकेमा मात्र पर्यटक आगमनमा बृद्धि हुने देखिन्छ यस ठाउँले गोसाँईकुण्ड र लाङटाङको जत्तिकै पर्यटक आर्कशित गर्न सक्छ टिमुरेका सुर्य घलेले भने । 
यो कुण्ड पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आवश्यक रहेको देखिन्छ । बाटो घाटो र कुण्डको संरक्षणमा सम्बन्धित क्षेत्रले चासो दिएका यहाँका जनताको आय आर्जनमा टेवा पुग्ने निकै सम्भावना छ । टिमुरे गाविसका युवाहरू संगठित रूपमा दुधकुण्ड  युवाक्लव मार्फत खैदीबाट दुधकुण्ड  जाने बाटो बनाउन जुटेका छन् । दुधकुण्डसम्म सरल पैदल मार्ग निर्माण हुन सके यहाँको पर्यटन विकासको माध्यमबाट गरीवी न्युनीकरण हुने स्थानीयवासी वताउछन् । बाटो निर्माण गरी ठाउँ ठाउँमा विश्राम स्थल , चिया पसल , निर्माण गर्न सकेमा जिल्ला मात्र होईन देश बिदेशका पर्यटक यहाँ पदयात्रा गर्न आउने भएकाले उचित विकासका लागि पहल गर्न आवश्यक देखिन्छ । 

टिमुरे गाविसबाट दुधकुण्को यात्रा शुरू हुन्छ । यात्राको पहिलो दिन बाटोमा नेपाल र तिब्बती भू–भागका हिमाल , रमणीय खर्कहरू बनस्पत्ती, बन्यजन्तुहरू जस्ता बिभिन्न दृष्यहरूले आनन्दितहुँदै दुघट्टेखोला, धुम्बाबुृ, धोजु, तोङया पुगेर बास बस्न सकिन्छ यात्राको दोसो्रदिन तोङ्याबाट नालुङखर्क, लाङटाङ बासा पुग्न सकिन्छ । त्यहाँबाट थुप्रै रमाईला दृष्यहरू देख्न सकिन्छ । यसले यात्राको थकाई पनि मेटाउँछ । सो दिन चेन्दुलुङ पाखा,चेन्दुलुङ खोला, चौरी खर्क भेडा खर्कहुँदै दुधकुण्ड पुग्न सकिन्छ । यात्रा गर्दा ३ दिनको यात्रा तय गर्दा राम्रो हुन्छ । सो दिन कुण्डमा स्नान गरी फर्कदा गाङसेर, कालोकुण्ड घ्यागर छो झारलखर्क, याङछोसा, देउराली रावुलाप्चे ,सिङयुल ,डुप्चु, जार्सा, क्यारूङ,थाङसेम्बु, ब्राङगा जस्ता बाटोमा पर्ने बिभिन्न स्थानबाट मनोरम हिमाली दृष्य र ठुला खर्कहरू देख्न सकिन्छ । यात्राको अवधिमा नेपाल र चीनका थुप्रै हिमाल र बस्तीका रमाईला दृष्यहरू देख्न सकिन्छ । 
जाङदोर गाङबाट चारैतिर खुल्ला र हिमालै हिमालका दृष्य हेर्दै,सुवुरगाङ् गुम्बा,खैदीको गुरूगुम्बा, एक औलाले हल्लाए जति जनाले सक्दो बल गरेर हल्लाए पनि उत्तिकै हल्लीने अनौठो ढुङ्गा देख्न सकिन्छ । त्यसलाई स्थानीयले ढाकर थाङबो भनेर पुजा ग र्दछन् । त्यहाँ चार सय वर्षभन्दा पुराना ग्रन्थ रहेको आचार्य कर्मलेक्चे कर्मछिरिङ टासी लामाले बताए । उनका अनुसार पाँच सय वर्ष पुरानो सुवुरगाँङ गुम्बामा रहेका गुरू पद्मासम्भाको ४ हजार ८ सय प्राचीन मुर्तिहरू थिए । त्यस मध्ये १ हजार मात्र छन् बाँकी सबै बिग्रेका छन् । मर्मतका लागि कसैबाट पहल नभएको लामाले बताए । त्यहाँको अर्को आर्कशणको केन्द्र बनेको खैदीमा रहेको घले दरबार जीर्ण बनेको छ । यात्रा खैदी गाँउहुँदै टिमुरे फर्कने सकिन्छ । राजधानीबाट शिधैको रसुवाको सदरमुकाम धुन्चेहँुदै स्याफ्रुबेंशीसम्म सवारी साधनबाट पैदलयात्रा शुरू गनुपर्ने हुन्छ , उच्चभागमा पुगीने भएकोले हावामा आक्सिजनको मात्रा कम हुँदै जान्छ , त्यहाँ फुलिरहेको भुई झारहरू , बुकी फुलको गन्ध चल्छ गर्दछ । जसले गर्दा लेक लागेर कसैलाई टाउको दुख्ने वाकवाक्ी लाग्ने हुन्छ । त्यसैले यहाँ यात्रा गर्दा कागती, लसुन, तातोपानी ,भिक्स् लगाएतका घरेलु औषधी सेवन गरी मन्द गतीमा उकालीनु पर्ने एक पटक दुधकुण्ड  पुगीसकेका तीर्थ यात्री मुकुन्दराज भेटवाल बताउछन् । दुधकुण्ड  क्षेत्रमा धेरै प्रकारका जडिबुटी कस्तुरी, झारल मृग, हिमचितुवा, गिद्ध, डाँफे, चौरी र भेडा पाल्ने रमणीय खर्कहरू रहेको बताउदै भौतिक पुर्वाधारको विकास गरी प्रचार प्रसार गर्न सके पर्यटकीयसम्भावना रहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । मेलाको समयमा कुण्डमा स्थानीय तमाङ झाँक्री ह्ल्मोहरू आ–आफ्ना परम्परागत आर्कशक भेषभूषामा सजिएर नाँचगान गर्दछन् । 
राष्ट्रको शान्ति, सम्वृद्धि र स्थयित्वका लागि नेपाल पर्यटन वर्षको भव्य समारोहका बीच शुभारम्भ हँुदा प्रशस्त पर्यटकीय सम्भावना बोकेको रसुवा जिल्ला सिमाना भने अत्यन्त चिसोका कारण मुस्ताङ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको कुनै चहलपहल नहुँदा स्थानीयवासीमा पर्यटनवर्षको थालनीले कुनै रौनकता ल्याउन सकेको छैन । 
मुख्य सिजनमा दैनिक तीनसय जनासम्म  पर्यटक आउने यस जिल्लामा पर्यटन वर्ष शुभारम्भको  पर्यटकहरूको ठूलै समूहको अपेक्षा लिएर स्वागतार्थ उपस्थित स्थानीयवासी र सरकारी निकायका पदाधिकारीहरू अति थोरै पर्यटक आगमनका कारण उत्साहित  हुन सकेनन् पर्यटन वर्षमा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइरहँदा पर्यटकहरूको एक मुख्य गन्तव्यस्थल रसुवा आउने पर्यटकका लागि थप नयाँ ‘प्याकेज’ तयार हुनसकेको छैन । कतिपय व्यवसायीहरू पर्यटन वर्षका बारेमा आफूहरूलाई कुनै जानकारी नभएकोबताउँछन् । 
 जिल्ला पर्वतारोहण, साहसिक पर्यटन, धार्मिक, सांस्कृतिक पर्यटनका साथै कृषि पर्यटन, खेल पर्यटन र पर्यापर्यटनको दृष्टिले देशकै प्रशस्त सम्भावना रहेको जिल्ला भएर पनि यसको बजारीकरण हुन नसक्दा ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्न सकेका ेछैन । प्राकृतिक सम्पदा,सांस्कृतिक विविधता र धार्मिक विशिष्ठताले धनी भएर पनि त्यसलाई पर्यटकीयक्रियाकलापमा जोड्न नसक्दा यहाँ आउने पर्यटकहरूको बसाइअवधि लम्ब्याउन नसकेको स्थानीय पर्यटन व्यवसायीहरू स्वीकार्छन् । हिउँदको समयमा वर्षभरी नै चिसो हुने भएपनि मंसीदेखि माघसम्म अत्यन्त ठण्डा हुनेहुँदा पर्यटकहरूको आगमन कम हुने गर्दछ । पर्यटकको वसाई लम्व्याउन विशेष आर्कशण तथा उत्सव मेलाको आयोजना गर्नुपर्ने स्थानीयवासीहरूको भनाई छ ।
हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु गुम्बैगुम्बाको जिल्लाको रूपमा चिनिने यहाँ सानाठूला गरी सयभन्दा बढीगुम्बाहरू रहे पनि तिनको सांस्कृतिक तथा धार्मिक पक्षका बारेमा प्रचारप्रसार हुन नसक्दा पर्यटकहरू त्यसबाट पनि अनभिज्ञ रहनुपर्ने अवस्था छ । पर्यटक आकर्षत गर्न पर्यटन वर्षका अवसरमा जिल्लाका विभिन्न स्थानहरूमा उत्सव तथा महोत्सवको आयोजना गर्ने तयारी भने भएको छ ।  

टिमुरेका उर्केन घले भन्छन् ‘यसरी हिउँ कम पर्न थाल्यो भने हामीले जति नै पर्यटनको कुरा गरेपनि आकर्षित गर्न सकिंदैन ।’ जिल्लामा आउने अधिकांश पर्यटकहरू हिमाल हेर्नकै लागि आउने गरेको उनले भने नेपाल चीन सिमानाको रसुवागढी हेर्न आउँने पर्यटकहरू परैबाट चित्त दुखाएर फर्कन्छन् , दुईदेशको सिमानामा सरकारले विदेशी पर्यटकलाई भ्रमण अनुमती नदिएपछि समस्या भएको छ ।  

Wednesday, January 12, 2011

माओवादी नेताका ७ सय स्कुल बन्द गरिने

अनमोलमणि पौडेल
माओवादी शिक्षक संगठनले पार्टी सम्बद्ध नेता कार्यकर्ताले चलाएका देशभरका ७ सय निजी विद्यालय बन्द गर्ने भएको छ । पार्टीले 'साम्यवादी' सिद्धान्त र व्यवहारमा द्वैध चरित्र देखिएको भन्दै 'समानता' का लागि यस्ता स्कुल बन्द गर्न लागेको संगठनले जनाएको छ ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीका अनुसार संकलित तथ्यांकसहितको प्रतिवेदन पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव गरिनेछ । उनले पार्टी स्थायी समितिका तीन जनाले प्रत्यक्ष/ परोक्ष रूपमा निजी विद्यालयमा लगानी गरेको भेटिएको बताए । संगठनको अध्ययनमा जिल्ला तहका नेताले सबैभन्दा बढी निजी विद्यालय चलाएको भेटिएको छ ।
'पार्टीकै मान्छेले आफूले अंगालेको सिद्धान्तमाथि विश्वासघात गर्दा हामीले पटक-पटक गर्ने निजी विद्यालय विरुद्धको आन्दोलन प्रभावकारी हुन सकेन,' लोहनीले कान्तिपुरसित भने, 'हामीले पार्टी सम्बद्ध निजी स्कुल बन्द गरेर थप आन्दोलनका लागि नैतिक आधार बलियो बनाउनु परेको हो । आफू महँगा निजी विद्यालय सञ्चालन गर्ने दुनियाँका छोराछोरीलाई निजी विद्यालय नपढाउ भन्ने नैतिक आधार हामीसित छैन ।'
उनकाअनुसार सबैभन्दा बढी निजी विद्यालय रहेको उपत्यकामा करिब सयवटा माओवादी सम्बद्ध छन् । उपत्यकामा १५ सय निजी विद्यालय छन् । स्थायी समिति र केन्द्रीय समिति पदाधिकारीको निजी विद्यालयमाथिको लगानी 'क्रस चेक' गरिरहेकाले संगठनले नाम सार्वजनिक गरेको छैन ।

'निजी विद्यालय बन्द गर्ने अभियान आफ्नै पार्टी सम्बद्धबाट सुरु गर्न लागिएको हो । यो माओवादीले बोकेको सिद्धान्त र व्यवहारबीचको खाडल पुर्ने कोसिस हो,' उनले भने, 'पार्टीले ०६६ साउनमा जारी गरेको १५ बुँदे आचारसंहितामा निजी स्कुलमा नपढाउने र लगानी नगर्ने भन्ने थियो । त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने हाम्रो माग हो ।'
संगठनले जिल्ला तथा केन्द्रीय समितिमार्फत माओवादी सम्बद्धका विद्यालय पहिचानको काम गरेको हो । भूमिगत कालमै पनि विद्यालय चलाएका, पार्टी शान्ति प्रक्रियामा आएपछि लगानी गरेका तथा पार्टी एकीकरणमा आएकाहरूले चलाएका विद्यालयबारे अध्ययन गरिएको छ । केहीले आफन्तको नाममा लगानी गरेको लोहनीले बताए । अध्यक्ष लोहनीले 'बल प्रयोग' गरेर वा 'विस्थापन' गरेर निजी विद्यालय बन्द अभियान सफल पारी छाड्ने दाबी गरे । पार्टी सम्बद्धका विद्यालय बल प्रयोग गरेरसमेत बन्द गर्न सकिने उनले चेतावनी दिए । बन्द अभियान केन्द्रीय समितिबाट सुरु गरेर जिल्ला तहसम्म पुर्‍याइने उनले जनाए ।

'कम्युनिस्टहरू निःशुल्क, अनिवार्य, वैज्ञानिक, व्यावहारिक र सार्वभौम शिक्षाको सिद्धान्त लिएर हिँड्छन्,' लोहनीले भने, 'राज्यले शिक्षाको दायित्व लिनुपर्छ भन्ने अवधारणा हाम्रो हो ।'
माओवादी सम्बद्ध सञ्चालकले भने बन्द अभियानप्रति असहमति जनाएका छन् । सामाखुसीको फ्लोरिसेन्ट हाइस्कुलका संस्थापक माधव मरहट्ठाले सामुदायिक विद्यालयको स्तर विकास नगरी पार्टी सम्बद्ध स्कुल जबरजस्ती बन्द असम्भव रहेको प्रतिक्रिया दिए । 'संगठनले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनु राम्रो हो,' माओवादी बुद्धिजीवि संगठनका उनले भने, 'बलजफ्ती गरिने बन्दले समस्या निम्त्याउँछ ।'
निजी विद्यालयको संगठन प्याब्सनका सचिव डिके ढुंगानाले विचारका आधारमा शैक्षिक संस्थामाथिको आक्रमण प्याब्सनलाई मान्य नहुने बताए । उनले भने, 'विचार र आस्थाका लागि बीसौं वर्षदेखि चलेका विद्यालय बन्द सम्भव छैन । हामी त्यसको विपक्षमा छौं ।'
संस्थागत विद्यालय शिक्षक युनियन -इस्टु) ले भने संगठनको अभियानमा समर्थन जनाएको छ । इस्टु अध्यक्ष होमकुमार थापाले माओवादी सम्बद्धका मात्रै नभई देशभरका निजी विद्यालय राष्ट्रियकरण गर्ने अभियानमा सघाउने बताए ।
माओवादी प्रवक्ता दीनानाथ शर्माले पार्टी सम्बद्ध विद्यालय संख्या यकिन नभएको र निजी विद्यालय के गर्ने भन्नेबारे छलफल जारी रहेको बताए । 'निजी विद्यालयबारे पार्टीमा बहस भइरहेको छ, अहिले नै केही भन्न सक्ने अवस्था छैन,' उनले कान्तिपुरसित भने ।

माओवादीका शिक्षक र विद्यार्थी दुवै संगठनले निजी स्कुल बन्द गर्न पार्टी नेतामाथि दबाब दिइरहेका छन् । अखिल क्रान्तिकारीले अठारौं सम्मेलनमा देशभरका निजी विद्यालयबाट नेताका छोराछोरी यसै शैक्षिक सत्रदेखि निकाल्ने घोषणा गरेको एक सातापछि बसेको संगठनको केन्द्रीय समिति बैठकले निजी विद्यालयको नयाँ दर्ता रोक्ने चेतावनी दिएको थियो ।
आफू महँगा निजी स्कुल चलाउने अनि दुनियाँका छोराछोरीलाई निजी स्कुलमा नपढाउ भन्ने आधार माओवादीसित छैन
-गुणराज लोहनी
अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन
विचार र आस्थाका लागि बीसौं वर्षदेखि चलेका विद्यालय बन्द सम्भव छैन, हामी त्यसको विपक्षमा छौं
-डीके ढुंगाना, सचिव, प्याब्सन
निजी स्कुल बन्द अभियानमा हाम्रो समर्थन छ, माओवादी सम्बद्ध मात्र होइन सबैलाई राष्ट्रियकरण गर्नुपर्छ
-होमकुमार थापा
अध्यक्ष, संस्थागत विद्यालय शिक्षक युनियन
पार्टी सम्बद्ध स्कुलको संख्या यकिन छैन, निजी विद्यालयबारे माओवादीमा बहस जारी छ, अहिले केही नभनौं
-दीनानाथ शर्मा
प्रवक्ता, माओवादी
कान्तिपुरबाट

Saturday, January 8, 2011

यस्तो पो लेखकको सम्मान

कृष्ण धरावासी

जर्मनीमा सन् १९७४ देखि प्रत्येक वर्ष एकजना 'टाउन राइटर्स' को नियुक्ति गरिँदोरहेछ । सन् २००९ को डिसेम्बरमा जर्मनी भ्रमणका क्रममा यो कुरा थाहा भएको थियो । नगरपालिकाको एक विशेष समितिले टाउन राइटर छनोटका सबै प्रक्रिया पूरा गरेको एउटा लेखक एक वर्षका लागि त्यस सहरको लेखकका रूपमा औपचारिक व्यक्ति बन्दोरहेछ । उसका लागि खाने, बस्ने, घुम्ने, अध्ययन गर्ने र लेख्ने सम्पूर्ण सुविधाको व्यवस्था गरिएको हुँदोरहेछ । घटीमा पनि उसले छ महिना त्यस घरमा बसी तोकिएको क्षेत्रमा समय बिताउनुपर्ने हुन्छ । त्यस अवधिभरिका निम्ति ऊ त्यो क्षेत्रको सम्मानित औपचारिक व्यक्ति हुन्छ र त्यस क्षेत्रका प्रत्येक नागरिकले उसको लेखनका लागि aavashyak पर्ने सूचना उपलब्ध गराइदिन्छन् । वर्षको बीस हजार युरो उसको पारिश्रमिकका लागि छुट्याइएको

हुन्छ । त्यसरी नियुक्त भएको लेखकले आफूले प्रस्ताव गरेको विषयको पुस्तक तयार भएपछि उसलाई नियुक्ति गर्ने संस्थाले प्रकाशित गर्ने र त्यस कृतिबापतको लेखकस्व पनि प्रदान गरिँदोरहेछ ।

प्|mयाँकर्फटको बेर्गे एन्कहाइम त्यो पहिलो सहर हो जहाँ सन् १९७४ मा टाउन राइटर्सको नियुक्ति गरिएको थियो । त्यस क्षेत्रमा अवस्थित टाउन राइटर्स बस्ने घर निरीक्षण गर्दै जानकारी लिइरहँदा थाहा पायौँ गत वर्ष -सन् २००८) नोबल पुरस्कार प्राप्त गर्ने लेखिका श्रीमती हैटी मुलर पनि सन् १९९५ मा त्यही सहरकी टाउन राइटर रहिछन् । कत्रो इज्जत लेखकको ! कत्रो सम्मान साहित्यको ! त्यहाँको सांस्कृतिक संस्थाका तत्कालीन पदाधिकारी योआखिम नेचले भनेे- 'देश विकासका लागि बाटो, बिजुली, स्वास्थ्य, शिक्षा, विज्ञान प्रविधि आदि जस्तै साहित्य पनि एक अपरिहार्य विषय हो । मानिसको बौद्धिकताको विकास राष्ट्रको भौतिक विकाससँग उत्तिकै एकाकार हुन सक्नुपर्छ ।'

जहाँ जहाँ पुग्यौँ हरेक सभा र भेटघाटमा उनीहरूले हामीलाई गरेको सम्मानले एक किसिमको लज्जाबोध हुन्थ्यो । मनमा झल्को आउँथ्यो- हामी त्यहाँ नेपाल सरकारका तर्फबाट पठाइएका थिएनौँ, नेपाल सरकारलाई त यो कुरो थाहा पनि थिएन । हामी त्यहाँ पुर्‍याइएका थियौँ जर्मन आर्थिक विकास तथा सहयोग मन्त्रालयको अनुरोधमा जीटी जेड एसर्बोनको निमन्त्रणामा । जर्मनीको त्यही टाउन राइटर्स अवधारणाअनुसार २०६५ साल भदौदेखि कात्तिकसम्म जीटी जेड नेपालले यहाँका पाँचवटा सहर धरान, बुटवल, नेपालगन्ज, धनगढी र भक्तपुरमा एकएकजना टाउन राइटरको प्रस्ताव माग गरेअनुसार दर्ता भएकामध्ये सीमा आभाष, भीष्म उप्रेती, अमर न्यौपाने, प्रकाश आङदेम्बे र मेरा प्रस्तावहरू स्वीकृत भएका थिए र त्यस अवधिभित्रमा हामीले ती सहरमा बसेर पुस्तक तयार गरेका थियौँ । तीमध्ये अमर न्यौपानेको 'पानीको घाम' कृतिले २०६६ सालको पद्मश्री पुरस्कार प्राप्त गरिसकेको छ । उपरोक्त टाउन राइटर्समध्ये म र अन्य तीन कविहरू वेञ्जु शर्मा, विप्लव प्रतीक र भूपाल राई यात्रामा सहभागी थियौँ ।
एउटा लेखक हुनु त्यहाँ कत्ति ठूलो कुरा थियो । नोबल पुरस्कार प्राप्त गर्ने हैसियत राख्ने लेखक त्यहाँको टाउन राइटर्सका लागि मनोनीत हुन सक्दारहेछन् र हुँदा पनि रहेछन् ।
टाउन राइटर्सका लागि खुला प्रस्ताव माग गरिँदोरहेछ । जुनसुकै देशको लेखकले पनि सहभागिता जनाउन सक्नेरहेछ तर उसले लेख्न चाहिँ जर्मनी भाषामै लेख्नुपर्ने र त्यहीँ बसेर लेखिनुपर्ने ।
यी कुरा थाह पाएपछि हामीमा अनौठो भावनात्मक प्रतिक्रिया उत्पन्न भयो । यो त ज्यादै सजिलो र अत्यावश्यक कुराजस्तो लाग्यो । हाम्रो देशमा पनि यस्तो काम गर्न नसकिने होइन भन्ने सोच्यौँ तर र्फकेर आएपछि हामी आआफ्ना कामतिर लाग्यौं । हामीले जर्मनीबाट फर्किंदा त्यहाँ बुझेको सवै कुरा त्यहीँ छोडेर र्फकेका
थियौँ । सायद विदेश भ्रमणमा जाने हाम्रा नेताहरू, मन्त्रीहरू, सांसदहरू, कूटनीतिज्ञहरू र समाजसेवीहरू यसै गर्दा होलान् र नै संसार जति घुमे वा देखे पनि त्यसको वस्तुगत प्रभाव यहाँ

आइपुग्दैन । आइपुग्छ- हिप्पीजम, एड्स, समलिंगी, ड्रग्स, नक्कली कारोबार, तस्करी, आतंकवाद र अवैध हतियार तर आइपुग्दैन- नैतिकता, बौद्धिकता, राष्ट्रप्रेम, विकास प्रेम र मानवता ।

अझै पनि ताजै छ मनमा त्यो यात्रा र त्यहाँको साहित्यिक मूल्यबोधको कुरा । देश विकासको सर्वांगीणताको प्रतिनिधित्व यदि साहित्य, कला र संस्कृतिले गर्न सक्दैन वा विकासको अवधारणाभित्र यी कुराहरू पस्दैनन् भने भौतिक विकासको जति नै प्रतिस्पर्धा भए तापनि त्यसको संरक्षण हुन सक्दैन । त्यो वस्तुको भावनात्मक मूल्यबोध गर्ने बौद्धिक चेतनाको पनि विकास गर्दै लैजान सक्नुपर्छ नि ।
यता पत्रपत्रिका र एफएमहरूको अन्तरवार्तामा भने पनि सरकारले चाहेमा हामीले पनि साहित्य, संगीत र कलाको क्षेत्रमा उल्लेख्य काम गर्न सक्छौँ ।

आज हरेक लेख, भाषण र प्रवचनमा समावेशी, संघीयता, जाति, भाषा, संस्कृति आदिको चर्चा गरिन्छ । सबै जाति, वर्ग र क्षेत्रको सही मूल्यांकन हुनुपर्छ भनिन्छ । राजनीतिक पार्टी र कार्यकर्ताहरूका मुखबाट केवल चुनावी नारासरह यी अभिव्यक्ति भइरहन्छन् । सुविधाजनक क्षेत्रमा बसेर दुर्गमका कठिनाइको चर्चा गर्दै बौद्धिकताको विज्ञापन गरिन्छ तर यथार्थमा देशको धरातलीय स्वरूपको सक्कली चित्र नेपाली आँखाअघि आउनैसकेको छैन । पूर्वको मान्छेले पश्चिम वा पश्चिमकाले पूर्व, उत्तरकाले दक्षिण वा दक्षिणकाले उत्तरको भूगोल, भाषा, संस्कृति, संगीत केही थाह पाएको छैन । टुँडिखेलमा नाचिएका केही धान नाच, चण्डी नाच र देउडा नृत्यले पूर्वपश्चिमको संस्कृतिको फ्युजन गर्न सक्छ ?
जबसम्म देशका कुनाकुनाबाट हाम्रा लुकेर रहेका भाषिक, सांस्कृतिक र साहित्यिक संवेगहरूलाई उठाएर देशव्यापी बनाउन सकिन्न राजधानीको प्रचारसामग्री केवल ढोल मात्र हुन्छ तालबिना बजिरहने ।
सरकारले बजेट बनाउँदा पुल, बाटो, शिक्षा, स्वास्थ्य, इन्धनमा छुट, ऋणमा ब्याज मिनाहा, दुर्गममा खाद्यान्न र औषधि, वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई पासपोर्ट र डलर साट्ने सुविधा मात्र होइन साहित्य, संगीत र कलामा खोज, अध्ययन र अनुसन्धान गर्नेहरूका लागि पनि व्यवस्था गर्नुपर्छ । ठूलै बौद्धिक तथा राजनीतिक दबाबका कारण झारो टार्ने शैलीका साथ गठन गरिएका प्रज्ञाप्रतिष्ठानहरूले मात्र यी काम गर्न सक्दैनन् । कर्मचारीलाई तलबभत्ता मात्र पनि नपुग्ने विनियोजित बजेटले ती प्रतिष्ठानबाहिर रहेका यत्रो बौद्धिक समुदायलाई काम दिन सक्छ ?

सरकारले बजेट बनाउँदा यदि देशमा कार्यरत ठूल्ठूला उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, विभिन्न वैदेशिक परियोजनाहरूलाई आफ्नो आम्दानी वा लगानीको केही प्रतिशत अनिवार्य रूपमा बौद्धिक क्षेत्रमा 'विदृत वृत्ति' का रूपमा लगानी गर्न प्रेरित वा बाध्य गरेमा ती लगानीकर्ताले अध्ययन गराउन चाहेको विषय वा प्रस्तावको समसामयिकताको मूल्यांकन गरी काम गर्न सकिन्छ । आज जागिरबाट समय फारो गरेर, गृहस्थीभित्र रुमल्लिँदै उबि्रएको समयमा घरका कुनामा बसेर घोत्लिएका भरमा पनि यति धेरै काम भएको छ भने कुनै कलाकार यस्तो परियोजनाअन्तर्गत क्यान्भास बोकेर जब गाउँ पस्ला कुनै संगीतकार गिटार बोकेर हिमालतिर लाग्ला, कुनै लेखक डायरी र कलम झोलामा हालेर मधेस झर्ला अनि छ महिना, वर्ष दिनमा उनीहरूले जे लिएर आउलान् के कम कुरा होला ? प्रत्येक वर्ष डेढ सय मात्र यस्ता प्राज्ञहरूले औपचारिक रूपमा आर्थिक सुविधासाथ काम गर्नसके पो वास्तविक देश खोजिने थियो, देखिने थियो । आफ्नै खुसीले देश खोज्न हिँडेका डोरबहादुर विष्ट के यो देशका प्राज्ञहरूबीचका महान् बिम्ब होइनन् ? आज नेपाली समाजशास्त्रीय अध्ययनको एक उत्कृष्ट प्रतिभा उनी आफ्नै प्रयत्नले भएका हुन् । सयौँ डोरबहादुर विष्ट, सत्यमोहन जोशी, योगी नरहरिनाथ, प्रेमप्रकाश फलाहारी, गोकुल जोशी, धर्मराज थापाजस्ताहरूलाई सरकारले यी सुविधाको व्यवस्थापन मात्र गरेर काममा लगाउन सक्छ । हरेक यस्ता ठूला घरानियाँ व्यापारिक संस्थाहरूको आम्दानीमा निश्चित रकम कर छुट गरी उक्त बराबरको रकम विभिन्न बौद्धिक क्षेत्रमा विद्वत्वृत्ति सञ्चालन गर्न प्रेरित गर्ने हो भने राज्यलाई के नै हानि हुन्छ र ? राज्य आफैं नाफा आर्जन गर्ने व्यापारी होइन । राज्यले नाफानोक्सान हेर्न पनि मिल्दैन । बरु उल्टै त्यसरी तयार भएका सामग्री प्रकाशित भएर बजारमा गई बिक्री भएमा सरकारलाई करका रूपमा त्यो लगानी फिर्ता हुन्छ ।
एउटा सिर्जनशील अर्थमन्त्रीका निम्ति यो कुरा त्यति गाह्रो छैन । यो एउटा कुरा म सरकारतिर फर्काउन चाहन्छु । यस्तो काम गर्न कतै ठूलै कसरत गरिरहनुपर्ला जस्तो लाग्दैन ।

Wednesday, December 15, 2010

जलवायु परिवर्तनको असर

मेक्सिकोको क्यानकुनमा यही नोभेम्बर २९ देखि डिसेम्बर १० सम्म आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन -युएनएफसीसी) ले जलवायु परिवर्तनको असर सामना गर्न विकासोन्मुख देशका कृषि क्ष्ाेत्रमा व्यापक लगानी बढाउन जोड दिएको छ । खाद्य सुरक्षा नभएसम्म जलवायुको सुरक्षा नहुने भन्दै सम्मेलनका सहभागी विज्ञहरूले खाद्य सुरक्षा र जलवायु परिवर्तनको असरलाई सँगसँगै सम्बोधन गर्न सुझावसमेत दिएका छन्, जुन चुनौतीपूर्ण छ ।

सन् २०५० सम्म ९ अर्ब जनसंख्यालाई खुवाउन अहिलेको उत्पादन ७० प्रतिशतले वृद्धि गर्नुपर्ने चुनौती कृषि क्ष्ाेत्रलाई छ । कृषि आफैं पनि हरितगृह ग्यासको ठूलो उत्सर्जक भएकाले त्यसलाई पनि ध्यान दिन आवश्यक छ । खासगरी अन्न लगायत कृषि उत्पादनका लागि वन फँडानी गर्दा कार्बन डाइअक्साइड ग्यास खपत गर्ने वनजंगलको तीव्र विनाश भइरहेको छ । जलवायु परिवर्तनका कारण यसअघि नै कृषि उत्पादकत्व र खाद्य असुरक्ष्ााको उच्च जोखिममा परेका क्ष्ाेत्रका ग्रामीण जनताको आयमा पनि बहुपक्षीय असर पर्ने देखिन्छ ।

भोकमरीको अवस्थामा कमी ल्याउनमात्रै नभई जलवायु परिवर्तनको असरविरुद्ध भविष्यमा विश्व खाद्यान्नको आपूर्तिलाई सुरक्षित गर्न पनि विकासोन्मुख देशहरूको कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा राष्ट्रसंघीय अधिकारीहरूले जोड दिँदैआएका छन् । एफएओका अनुसार विश्वका झन्डै १ अर्ब मानिसहरू भोकमरीको अवस्थामा छन् । जलवायु परिवर्तन र खाद्य सुरक्षा चुनौती सामना गर्न अहिले विश्वमा कृषि क्षेत्रमा भइरहेको लगानी अपर्याप्त रहेको विज्ञहरूले औंल्याएका छन् । कृषिमा आधारित अर्थतन्त्र भएका र विकासोन्मुख मुलुकमा समेत यस्तो लगानी निकै कम छ । कृषि क्ष्ाेत्रले समग्र अर्थतन्त्रमा औसत २९ प्रतिशत योगदान दिए पनि कुल गार्हस्थ उत्पादन -जीडीपी) को ४ प्रतिशत हाराहारीमा मात्रै यो क्षेत्रलाई बजेट छुट्याउने गरिएको अध्ययनहरूले देखाएका

छन् । नेपालको सन्दर्भमा त्यो झनै कम छ । जीडीपीमा झन्डै ३२ प्रतिशत योगदान दिएको कृषिलाई त्यसको १ प्रतिशत हाराहारीमा मात्रै बजेट छुट्याइने गरिएको छ । चालु आर्थिक वर्षमा सरकारले कुल राष्ट्रिय बजेटको झन्डै ४ प्रतिशत -१३ अर्ब ९ करोड रुपैयाँ) कृषिलाई छुट्याएको छ । अघिल्लो वर्ष यो ३ प्रतिशत हाराहारीमा थियो । खाद्य असुरक्षामा रहेका मुलुकका सरकारले राष्ट्रिय बजेटमा कृषि हिस्सा बढाएर कम्तीमा १० प्रतिशत पुर्‍याउन एफएओले आग्रह गरेको छ ।

विकासोन्मुख देशका करिब ७५ प्रतिशत गरिबको जीविकोपार्जन र कार्बन उत्सर्जन निराकरण गर्दै बढ्दो जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउन कृषिमा व्यापक लगानी आवश्यक छ । युएनएफसीसीको प्रक्षेपणअनुसार कृषि क्षेत्रमा सन् २०३० सम्ममात्रै विकासोन्मुख देशहरूलाई वाषिर्क १४ अर्ब डलर लगानी प्रवाह हुनुपर्छ । क्यानकुन सम्मेलनमा 'फास्ट स्टार्ट फाइनान्स' अन्तर्गत विकासोन्मुख देशहरूका लागि सन् २०१२ सम्म जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि ३० अर्ब डलर दिन औद्योगिक राष्ट्रहरूले प्रतिबद्धता जनाएका छन् । सन् २०२० सम्म दीर्घकालीन फन्डमा १ सय अर्ब डलर संकलन गर्न पनि सहमत भएका छन् । वन विनाश रोकी कार्बन उत्सर्जन घटाउने कार्यलाई उकास्न विकासोन्मुख देशलाई प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न पनि सरकारहरू सहमत भएका छन् । उक्त लगानी कृषि क्षेत्रका लागि कति जान्छ, त्यसले पनि खाद्य सुरक्षा र कृषि क्षेत्रको भविष्य निर्धारण हुने देखिन्छ ।

हालसम्म जलवायु परिवर्तनको समस्या -उत्सर्जन न्यूनिकरण) समाधान र अनुकूलीकरणका लागि स्रोत परिचालन गर्न विभिन्न संयन्त्र स्थापना गरिए पनि धेरैजसोले कृषिलाई समेट्न सकेको छैन । विकसित मुलुकको राष्ट्रिय कुल आयको प्रतिशत, अन्तर्राष्ट्रिय यातायात उत्सर्जन तथा आर्थिक कारोबारमा लेभी, कार्बन कर लगायतका माध्यमबाट स्रोत जुटाउन सकिने विकल्प विज्ञले सुझाएका छन् । जलवायु परिवर्तनमा अन्तरसरकारी प्यानल -आईपीसीसी) का अनुसार आर्थिक सहयोग तथा विकाससम्बन्धी संगठन -ओईसीडी) मा आवद्ध नभएका मुलुकको कृषिमा कार्बन बिक्रीबाट मात्रै बाषिर्क ३० अर्ब डलरको हाराहारीमा उठाउन सकिन्छ । यसबाट थप लगानी गर्न ठूलो सहयोग पुग्छ । कृषिको कुल उत्सर्जनमध्ये ९० प्रतिशतसम्म कृषिले नै विस्थापन गर्नसक्ने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्छ ।

जलवायु परिवर्तनको असरबाट नेपालको कृषि क्षेत्र पनि अछुतो छैन । जलवायु परिवर्तनका कारण उत्पन्न अतिवृष्टि, अल्पवृष्टि, खडेरी, बाढी, पहिरोजस्ता प्रकोपले धान, गहुँ र मकैजस्ता प्रमुख खाद्यान्न बाली र अन्य कृषि उत्पादनमा असर पुगिरहेको छ । जस्तो गतवर्ष खडेरीले मकै सखाप भयो भने समयमा पानी नपर्दा पर्याप्त धान रोपाइँ हुनसकेन । त्यसको असरस्वरूप गत आर्थिक वर्षमा धानको उत्पादन ११ र मकै ४ प्रतिशतले घट्न पुग्यो । त्यसबाट मुलुकमा थप ३ लाख १६ हजार टन खाद्यान्न अपुग हुनपुग्यो । यो पटक तुलनात्मक रूपमा मौसम राम्रो भइदिँदा धान र मकै दुवैको उत्पादन ११ प्रतिशतका दरले बढ्यो ।

यस्तो अवस्थामा जलवायु परिवर्तनको सम्भावित असरबाट बच्न समयमै पूर्वतयारीका कार्यक्रमलाई बृहत रूपमा सञ्चालन गर्नुपर्छ । त्यसका लागि मल, बीउ, सिंचाइ लगायतमा अनुदान दिएर किसानलाई प्रोत्साहन दिनुपर्छ । जनसंख्याको उच्च वृद्धिदर रोक्न प्रभावकारी कदम तत्काल चाल्ने, पानीका स्रोतको उचित संरक्षण र सदुपयोग गरिनुपर्छ । बढी उत्पादकत्व दिने खालका बीउ लगायत खडेरी र सुख्खापन सहन गर्नसक्ने खालका कृषि बालीका नयाँ जात र प्रविधिको अनुसन्धान र विकासमा पनि राज्यको लगानी बढ्नुपर्छ ।

स्नातकोत्तर युवा कृषिमा

अंग्रेजी विषयमा स्नातकोत्तर गरेका एक युवा जंगलको बीचमा एक्लै बसेर कृषि पेसालाई निरन्तरता दिँदै आएका छन् । माझगाउँ अल्काटारका ४५ वषर्ीय धर्मराज पौडेलले १८ वर्षदेखि यो पेसा अँगालेका हुन् । उनी एकान्त जंगलको बीचमै घर बनाएर बसेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सात वर्षअघि स्नातकोत्तर गरेका उनी जागिर खान छाडेर गाउँकै पाखोमा एक्लै बसोबास गर्दै सुन्तला, मौरीपालन, तरकारीलगायत खेती गर्दै आएका छन् । अंग्रेजी विषय पढाउन विभिन्न उच्चमाविहरूले आग्रह गरे पनि जागिर खान नचाहेको उनले बताए । यत्रो पढेर मान्छे जंगलमा बसेर खेती गर्ने भनेर उनलाई धेरैले खिस्साउने गर्छन् । 'पढेर जागिरै खानुपर्छ भन्ने छैन,' न्यौपानेले भने, 'कृषिमै लागेर देशको उत्पादनमा टेवा पुर्‍याउन सकिन्छ ।'

गाउँबाट अधिकांश बासिन्दा सुविधा खोज्दै सहर झरिरहेका बेला उनी भने अरूले छाडेको पाखो बारीसमेत किनेर खेती गरिरहेका छन् । सहरमा घरघडेरी किन्ने प्रवृत्ति बढिरहेका बेला उनी कृषि पेसाबाट कमाएको लाखौं रुपैयाँ वनपाखामा लगानी गरिरहेका छन् । उनीसँग सुरुमा १२ रोपनी जग्गा मात्रै थियो । अहिले ३० रोपनी जग्गामा सुन्तला मात्रै खेती गरेका छन् । एक हजार बोट सुन्तलाबाट उनले वाषिर्क ६ लाख आम्दानी गर्दै आएका छन् । जिल्लामै उनी दुई वर्षअघि उत्कृष्ट सुन्तला कृषकका रूपमा समेत पुरस्कृत भएका थिए ।

अरू ३० रोपनी खेतमा उनले धान रोप्न छाडेर केरा र तरकारी खेती गरेका छन् । एक सय घार मौरी, ४० वटा बाख्रा र १२ वटा गाईभैंसीसमेत पालेका छन् । खेतीबाट उनले वाषिर्क ११ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । चार वर्षदेखि उनले आम्दानी लिन थालेका हुन् । खेतीबाट आएको आम्दानी उनले जमिन थप्न लगाएका छन् । बाँदरले खेती नष्ट गर्ने हुनाले बिहानै उठेर बाँदर धपाउन व्यस्त रहन्छन् । तरकारीसमेत आफैं बोकेर सहर झर्ने गर्छन् । 'सहरमा घरघडेरी किन्न सक्थें तर मलाई सहरमा घर बनाएर बस्ने चाह छैन,' उनले भने, 'यही ठाउँमा एउटा कृषि अनुसन्धान केन्द्र खोल्ने सोच छ ।'

उनको लगाव देखेर विदेशीसमेत उनको प्रशंसक बनेका छन् ।

केही विदेशीले उनको कामको प्रशंसा गर्दै हाते मेसिनसमेत सहयोग गरेका छन् । सानैदेखि पढेर कृषिमै लाग्ने सोच बनाएका न्यौपानेको अहिले आएर त्यो इच्छा पूरा भएकामा दंग छन् । from online

Monday, December 6, 2010

गाउँबाट बजारमा बसाइँ सर्ने क्रम बढ्दो छ ।

 ग्रामीण क्षेत्रमा बसोवास गर्ने कतिपयले पाल्दै आएका पशु घटाउँदै छन् । धेरैले पाल्नै छाडिसके । कास्कीको एक गाउँका युवकले भने व्यावसायिक शरूपमा भेंडाबाख्रा पालेर वाषिर्क लाखौं आम्दानी गर्दै आएका छन् ।
उत्तरी ल्वाङघलेल-९ सिदिङका २५ वर्षीय गोविन्द गौतम भेंडाबाख्रा पालेर उदाहरणीय बन्दै आएका
हुन् । 'मेरो खोरमा पाँच सयभन्दा बढी भेंडाबाख्रा छन्,' मर्दी हिमाल ट्रेकिङ रुटको हाई प्वाइन्टस्थित गोठमा भेटिएका गौतमले भने, 'अब दसंैको सिजन सुरु भएकाले गाउँतिर झारेर बिक्री गर्ने योजनामा छु ।' गौतमले बिक्रीबाट वाषिर्क ४ लाख रुपैयाँभन्दा बढी नाफा हुने गरेको बताए ।
गौतम रोजगारीका लागि ७ वर्षअघि खाडी मुलुक कतार पुगेका थिए । त्यहाँको कमाइमा सन्तुष्ट हुन नसकेपछि गाउँ फर्किएर भेंडाबाख्रा पालनमा लागेको उनले बताए । 'खाडीमा ३ वर्ष बसेर गाउँ फर्किएँ,' भेंडा धपाउँदै गरेका गौतमले भने, 'उता (विदेशमा) अरूले अह्राएको काम गर्नुपथ्र्यो । यहाँ आफ्नो काम गर्न सजिलै भएको छ । कमाइबाट पनि सन्तुष्ट छु ।'
उनका बाबुबाजेले ३२ वर्षअघि भेंडा पाल्न सुरु गरेका थिए । त्यो क्रम केही वर्षपछि बन्द भएको थियो । विदेशमा भोगेको पीडापछि गोविन्दले पुनः त्यो पेसालाई निरन्तरता दिएका हुन् । उनी एक्लैले नभ्याउने भएकाले एक जना गोठालो राखेका छन् । घुम्ती रूपमा पाल्ने भएकाले गौतमले अस्थायी छाप्रा बनाउँदै आएका छन् । उनले असारदेखि असोज पहिलो सातासम्म ४ हजार ५ सय मिटरको उचाइमा, असोज-कात्तिकमा ३ हजार ५ सय मिटर र हिउँदमा गाउँको खेतबारीमा गोठ सार्ने गर्छन् ।
लेकमा ठूला-ठूला खर्क रहेका र त्यहीं चर्ने भएकाले साना पाठापाठीबाहेक अरूलाई घाँस काट्न नपर्ने हुँदा स्याहार्न सजिलो भएको उनले बताए ।
स्थानीय समाजसेवी राजेन्द्र गुरुङका अनुसार पहिले गाउँका धेरै जनाले लेकमा भेंडाबाख्रा पाल्ने गर्थे । अहिले त्यो क्रम घट्दै गएको छ । 'गोविन्दले मात्रै यो पेसालाई निरन्तरता दिएका छन्, गुरुङले भने 'उनी गाउँका उदाहरणीय युवा हुन् । धन कमाउन विदेशै जानुपर्छ भन्ने मान्यतालाई उनले तोडेका छन् ।' पशु सेवा कार्यालय कास्कीका प्रमुख प्रकाशराज श्रेष्ठले अधिकांश युवा रोजगारका लागि देश-विदेश भौंतारिइरहेका बेला गौतमको काम निकै प्रशंसनीय रहेको बताए ।

रसुवाका लुई चौधौंहरू


पं नारायण देवकोटा

नेपालको राजधानी काठमाडौंबाट ११० कि.मी. उत्तरी दिशामा पर्ने रसुवा जिल्ला लाङटाङ हिमाल र गोसाईंकुण्ड धार्मिक तीर्थस्थल रहेको जिल्लाको रूपमा चिनिएको छ । जातीय तथा भाषिक दृष्टिकोणले तामाङ जातिको बाहुल्यता रहेको यस स्थान अशिक्षित तथा सोझासाझा जनताको आश्रयस्थल, गरिवी, वेरोजगारी, कम उत्पादनमूलक भूमि तथा अति विकट पहाडी जिल्लाको रूपमा चिनिँदै आएको छ । रसुवाको भौगोलिक विकटताले एकातिर प्रतिकूल असर पारिराखेको छ भने अर्कातिर राजनीतिक, सामाजिक र आर्थिक अवस्थाले रसुवालीको दिनान्दिनी माथि असहजता थपिराखेको छ । इतिहासदेखि नै यिनै रसुवाली जनताको सोझोपनको फाईदा वरिपरिका टाठाबाठा र लाउकेहरूले लिईराखेका तीतो यथार्थता आज पनि विद्यमान छ । न खेतीजन्य जमिन न खपतयोग्य वजार न त रोजगार नै छ,, यी केही पनि नभएको कारण रसुवालीको प्रगतिमा ताल्चा लागेको छ । केही दशक अघिसम्म शैक्षिक उन्नयनको निम्ति गाउँ गाउँका विद्यालयमा विशेष गरी तराई तथा अन्य छिमेकी जिल्लाका जनशक्ति खपत हुने जिल्लाको रूपमा रसुवा अगाडि रहेको छ । मध्यम तथा उच्चस्तरको जागिरको निम्ति योग्यताको अभाव र निम्नतहको लागि पहुँचको अभावका कारण रसुवालीले ती अवसरहरूमा त्यति प्रवेशको अवसर प्राप्त गर्न सकेनन् । गाउँघरका छोटे राजाहरूको एकछत्र राजका कारण यी निमुखा जनताको जीवनस्तर कहिल्यै माथि आउन सकेको छैन र ती राजाहरूले जीवनस्तर उठेको हेर्न सक्दैनन र चाहादैनन् पनि ।
राजनीतिक अस्थिरताको कारण अवसरवादीहरूको चलखेलले प्रशस्त वजार प्राप्त गरिराखेको छ । स–सानो रोजगारीको निम्ति पनि आयातित जनशक्तिलाई भर्ना गर्ने प्रणाली रहेको कारणले गर्दा आजसम्म पनि रसुवावासीले त्यसको दुस्परिणाम भोगिरहेका छन् । प्रारम्भिक परिपाटी विग्रेकै कारणले होला रसुवा “जहाँ कंगाल, त्यहाँ चण्डाल” भने झैं आजसम्म पनि स्वाभिमान र स्वतन्त्र रूपमा ठडिन सकेको छैन । दुःख सुख गरी आफूले आर्जन गरेको ज्ञान र बौद्धिकताको सही उपयोग आफ्नै माटोमा गर्छु भन्नेले पनि अवसर पाउने अवस्थाको सिर्जना भएको छैन । बौद्धिकता, ईमान्दारिता, परिश्रम र आस्था अनि वैचारिक मान्यतामा विश्वास गर्नेहरूमाथि केही स्थानीय छोटे राजाहरूको वक्रदृष्टि छ । गाउँका सिंह बनेर रहेका यिनीहरू स्वार्थका पुजारी छन र छेपारे प्रवृतिको तालिममा निपूर्ण छन । राजनीतिक विस्कुन चोर्न पल्केका यी छेपारेहरू वर्षा र वाढीमा गोही वन्न र खडेरीमा मरूभूमिको उँट बन्न खप्पिस छन । अनिकालको अभाव टार्न बेसाएर ल्याइएका केही शिक्षकहरू यिनीहरूकै मिलेमतोमा आफ्नै ल्याकतलाई भुलेर आफैं लुई चौधौ बनिरहेको स्पष्ट रूपमा देख्न पाइन्छ । छोटे राजाहरूले यिनीहरूलाई अर्ति उपदेश, राजनीति, कुटनीति, आर्थिक आदि विविध पक्षमा सल्लाह सुझाव दिन आन्तरिक रूपमा नियुक्ति नै गरे सरह छ । दुःखजिलोका साथ घर छाडी उच्च शिक्षा हासिल गरेर आफ्नै जिल्लामा सेवा दिन चाहने जिल्लाका केही युवायुवतीहरूलाई ती लुई चौधौंहरू यमराज ठान्छन र टाठाबाठा अधिकारवालाको कान भर्नमा नै व्यस्त रहन्छन । सायद हिजो उनीहरूले नै “कखरा” सिकाएका विद्यार्थीहरू आफूभन्दा वढी योग्यता हासिल गरी त्यही सेवा गर्ने आशा राख्दा उनीहरू इष्र्याले भुतुक्क हुन्छन र जतिसुकै दक्ष र योग्य भए पनि जिल्लावासीलाई वरपर रहेको नै देख्न चाहदैनन् तथा खिसिट्यूरी र उपहास गर्न मच्चिएरै लागिपरेका छन । यही हाम्रो रसुवा पिएर उनीहरूका जवानी निख्रे, बूढा भए, पेन्सन पकाए तर पनि जागिर छाड्न सक्दैनन् । उनीहरूको स्थानमा एउटा निरन्तर विश्वविद्यालय गएर योग्यता पुगेका ताजा र सक्षम युवा आएर विद्यार्थीको मनोविज्ञान अनुकूल आधुनिक ज्ञान र प्रविधियुक्त शिक्षा प्रदान गर्न सक्थे, ख्यै तिनलाई अवसर ? वास्तवमा यी चौधौंहरू संसारमा आफूभन्दा महान्् र जान्ने कसैलाई पनि ठान्दैनन् र कालले अंकुश नलगाएसम्म लुटको खेती गर्न छोड्दैनन् । यी बौद्धिक दरिद्र र धन पिपासु दार्हा र नङ्ग्रा खुस्केका ग्राम सिंहवत छोटे राजाहरूको तासको खाल र भट्टीका सहयात्री पनि हुन् । उनीहरूले निम्ता दिएको पर जिल्लाका व्यक्तिलाई नियुक्ति गर्दा प्रारम्भमा “बोलकवोल” द्धारा नगद फाईदा र त्यसै दिनदेखि आफ्नो हनुमान बनाउन पाईने भएकाले पनि स्थानीय योग्य व्यक्तिहरूलाई उनीहरू आँखाको कसिंगर ठान्दछन् ।
यी लुच्चा र नीचा नेपाली लुई चौधौंहरू गाउँघर फुटाउन र भाइवन्धुत्त्वको भावनामा कुठाराघात गर्न तल्लीन छन । गाउँघरका शिक्षित तथा बुद्धिजिवी र असल बाटोमा लागेका युवाहरूलाई सकेसम्म हतास, पत्तासाफ तथा पलायन बनाउनमै यिनीहरूको ठूलो हिस्सा खर्च भईरहेको छ । यिनीहरू राजनीतिक शक्तिका बाठा कागहरूलाई कोईली बनेर फूल चोर्दै शत्रुका पोथ्रा कोरल्न लगाउन पनि खप्पिस छन । विद्यालयमा ‘शिक्षक आवश्यकता’ भनेर विज्ञापन खुलाइन्छ तर त्यहाँ त्यही ‘लुई’ सर्वशक्ति सम्पन्न हुन्छ । विश्वविद्यालयमा उच्च शिक्षा सकेर आएका प्राज्ञहरूको मूल्याङ्कनकर्ता त्यही घमण्डको राजा लुई चौधौं र उनै बौद्धिक स्तरहीन लठ्ठु ग्रामसिंह र उसका हलीहरू हुन्छन । लुई चौधौं र छोटे राजा तथा ल्याप्चे लगाउने हलीले प्राज्ञहरूको कुन विधि प्रयोग गरी मूल्याङ्कन गर्ला ? त्यसै बेलामा आफूलाई सर्वशक्तिमान ठान्ने राजनीतिक पार्टीको दवाव आउँछ “नियुक्ति राम्रो भन्दा हाम्रो” हुनुपर्नेछ भनेर । मातृभूमिको सेवा गर्न चाहने, प्राज्ञिक क्षेत्रलाई नै आफ्नो जीवनको सर्वस्व ठान्ने र सु–सभ्य समाजको निर्माण गर्न खोज्ने स्थानीय योग्य शिक्षित व्यक्तिहरूको तिरस्कार गरी उनीहरूका पार्टीलाई हरतरहले सघाउने, जहाँको र जस्तोसुकै व्यक्ति भएपनि उसको हातमा नियुक्ति पत्र थामिदो रहेछ । विद्यालय, विद्यार्थी र अभिभावकले यस्तो कृयाकलाप अन्यायपूर्ण हो भन्ने जान्दाजान्दै पनि भाँटा कारवाहीको डरले चुपचाप बस्नु सिवाय अरू केही गर्न सकेका छैनन ।
एउटा समाजसेवामा लाग्ने प्राज्ञिक व्यक्तित्व वास्तवमै सबैको सार्वजनिक उपहार र गहना हो, उसलाई कुनै राजनीतिक पार्टीको झोले बन्नु आवश्यक छैन । एउटै मात्र अनुरोध – समय परिवर्तनशील छ । “कहिले सासुको पालो त कहिले बुहारीको” हुनुपर्ने तर सासुको मात्रै पालो आईरह्यो यहाँ । बुहारीको नयाँ घुम्टो ओढेर सासुले ठगेको ठग्यै गरी ।
रसुवाका ग्रामसिंहहरू र लुई चौधौंहरू २०४६ अघिको पञ्चायत कालमा पञ्चे भएर जनता लुटे । ०४६ का वर्षपछि कांग्रेसी बनेर लुटे, एमालेको युगमा एमाले नै बनेर लुटे भने संकटकालमा सच्चा र राष्ट्रवादी राप्रपा बनेर लुटिरहे । अनि ०६२ पछि माओवादी चहलपहल हुन थाले पछि तिनै राष्ट्रघातीहरू रसुवाको आमूल परिवर्तन गर्ने अग्रगामी तथा साम्यवादी लालसेनाको मखुण्डो लगाएर ब्रम्हालुट गरिरहेका छन । तिनै स्वानमार्गीहरू आज जिल्लाका उच्च स्तरीय योजनाकार, नीति निर्माता, बुद्धिजीवी, सल्लाहकार एवं प्राज्ञ आदि विभिन्न पद र ओहदामा पुगेका छन ।
आ–आफ्नो वैचारिक अडान सर्वत्र पूज्य हुन्छ । विचारको साम्राज्य अभेद्य र अकन्टक पनि हुन्छ । युगीन परिवर्तन र समाजवादी विचारलाई आत्मसाथ गर्दै गरिवीको रेखामुनि छट्पटाइरहेका रसुवालीहरूको मुक्तिको निम्ति हिजैदेखि लागिपरेका र अति कठिन परिस्थितिमा आफ्नो जीवनलाई वलि दिने ती महान् रसुवाली वीर सहिदप्रति म श्रद्धाञ्जली दिन चाहन्छु । व्यक्तिगत स्वार्थ, लोभ लालचा आदिलाई टाढै राखी परिवर्तित साम्यवादी रसुवाको मार्गचित्र सु–संस्कृत तथा समुन्नत रसुवाको तस्विरलाई मुटुभरि हुर्काएर अभैm चिन्तन, मनन र विवेकका साथ कर्मलाई महत्व दिई प्रतिकृयावादी शक्तिहरूसँग स्वच्छ रूपमा अविराम संघर्ष गरिरहेका माओवादी कर्मठहरू प्रति नैतिक शक्ति प्रदान गर्दै उक्त अभियानको सफलताको कामनाका साथ हृदयदेखि नै क्रान्तिकारी अभिभावन गर्न चाहन्छु । तर सही र प्रमाणिक तथ्य हुँदाहुँदै पनि अरूको पृथक विचारमाथि बलात्कार गर्ने, संक्रमणकालीन अवधिलाई शत्रु साँध्ने अवसरका रूपमा लिने, उन्मत्तताको क्रन्दन चर्काउने, विचारमा अडिग व्यक्तिमाथि जाईलाग्ने, क्षमा दिनेहरूलाई काँतर सम्झने, नाङ्गा खुकुरी , तरवार तथा लौरा ताक्दै चन्दा माग्ने र आफ्नो सदस्यता बाँड्ने, अन्य राजनीतिक विचार बोक्नेहरूमाथि रावण नीति लिने जस्ता कु–प्रवृत्ति र जंगली व्यवहारको प्रदर्शनी गर्ने भनेका ती आत्मज्ञानले भरिएका र विचारले पग्लिएका सच्चा माओवादी नभएर स्वार्थसिद्धको लागि मालिकलाई खुशी पार्न खोज्ने नोकरहरू हुन् । जो छेपारे प्रवृत्तिका नयाँ जोगीहरू र तिनीहरूका हनुमान नै हुन । यिनीहरूका प्रदर्शन साम्यवादी आदर्श पुरूषका दर्शन विपरीत छन् । जिल्लाका “चरित्रवान् तथा साम्यकामीहरूलाई चेतना भया” नयाँ जोगीले धेरै खरानी दल्छ भनेझैं गाउँका भ्रष्ट अवसरवादीहरू हिजो “जय देश, जय नरेश” जय नेपाल र लाल सलाम हुँदै आज क्रान्तिकारी लाल अभिवादनमा पुगेका छन । यिनै अवसवादी भ्रष्टका मतियारहरू आज तपाईंका ठानिएका, हिजो कसैका थिए भने भोलि अरू जो कसैका हुनेछन् । तपाईको थुन पग्रुञ्जेल तपाईका नै हुनेछन् र दूध निथ्रेपछि अर्कै थुन पक्रन पुग्नेछन । तपाई निथ्रने बित्तिकै तपाईलाई “जुम्राले छाडेको लाश” झै छाड्नेछन । आफ्नो असली बोटबाट झरेर पतकर बनेकाहरू शक्तिशाली हुन्डरीसँगै उड्नेछन् ।
मुक्तिकामी आदरणीय कमरेडहरू ! यी अवसरवादी खहरेको भेलमा पौडिएर तपाई आफ्नो बीउ नसडाउनुहोस । बुद्धि र विचारको कदर गर्दै स्थानीय शिक्षित युवाहरूलाई प्रतिशोधको उपहार नदिनुहोस् । प्रतिशोध र ईष्र्या हैन महान् जनताको रचनात्मक सेवा गर्ने अवसर दिनुहोस् । प्राज्ञिक वर्गलाई कुनैपनि राजनीतिक दलको खेताला हैन सरस्वतीका पुत्र सम्झनुहोस् । फरक मान्यता र अभिमत राख्ने असल व्यक्तित्वको विचारको कदर गर्नुहोस् । वैचारिक स्वतन्त्रतामा निश्चल उभिएका सामाजिक मानिसहरूका हातमा तपाईको झण्डा हैन दिलमा साम्यवादी आस्था अंकुराउन पे्ररित गर्नुहोस् किनभने साम्यवादी आस्था हुर्किएमा तपाईलाई थप बल मिल्न सक्दछ । उसले कतै नदेखिदोसँग तपाईलाई सहयोग पुर्याएको छ कि ? त्यसको चनाखो भएर आजैदेखि गहन खोजी गर्नुहोस् र यो पनि नविर्सनुहोस्, कतै साम्यवादीका मखुण्डो लाएकाले तपाईकै मर्ममा गंभीर कुठाराघात गर्दै त छैनन् ? राजनीतिक प्रतिशोध र आवेशमा आएर फरक विचार राख्नेलाई सिध्याउन खोज्दा “लामखुट्टे पोल्ने हुँदा घर नै जल्न सक्छ ।” तपाईको आफ्नो गहन प्रतिवद्धतालाई क्षणिक स्वार्थको आधारमा कत्ति पनि डग्न नदिनुहोस् । तपाईको भोक टार्ने खाजा पोल्टामा हुँदाहुँदै पल्लो घरको झ्याँगा तान्न नजानुहोस् त्यसले तपाईलाई उपहासको पात्र बनाउन सक्छ । आफ्नो घरको छानो एक डल्लो ढिडोमा टाल्न खोज्नेलाई छाती फुकाएर छानामा उकाल्नुहोस् । “टाढाको देवता, करेसाको भूत” भनेझैं स्थानीय र योग्य व्यक्ति शत्रु भएर नौ डाँडा पारिको व्यक्ति तपाईको कदापि मित्र वन्न सक्दैन किनकि एउटालाई माटाको माया हुन्छ भने अर्कालाई पाईलैपिच्छे निजी फाइदाको बाला झुलाउने चाहना हुन्छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने– योग्य स्थानीय जनशक्तिलाई अवसरवाट वञ्चित गराई अझै पनि बाहिरवाट जनशक्ति बेसाउने प्रथाले रसुवाका लुई चौधौं र छोटे राजाहरूलाई त गर्व लाग्न सक्ला तर सिर्जनशील र केही गरौं भन्ने भावना भएका उर्वरशील तथा स्वाभिमानी रसुवालीहरूको आत्मविश्वास र छविमा भने गहिरो चोट लाग्नेछ, यी नैतिक घाइते हुनेछन् । सजकताका साथ बेलैमा ती शोषक नेपाली लुई चौधौंहरूलाई सार्वजनिक चोकमा उभ्याइएन भने स्थानीय तथा योग्य नागरिकको जतिसुकै दक्षता र योग्यता भए पनि ऊ अयोग्य नै ठहरिनेछ र “बाघको छालामा स्यालको रजाईं” भनेझैं आगामी पुस्ताले पनि यो रोग व्यहोर्नु पर्नेछ । यसको फाइदा तिनै छेपारे प्रवृत्तिका ग्रामसिंह छोटे राजा र लुई चौधौंहरूलाई पुग्नेछ न कि रसुवाको उन्नति र प्रगति चाहने परिवर्तनकारी योद्धाहरूका लागि ।

एम.फिल. दोश्रो सत्र
कीर्तिपुर, काठमाडौं ।

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...