Wednesday, January 12, 2011

माओवादी नेताका ७ सय स्कुल बन्द गरिने

अनमोलमणि पौडेल
माओवादी शिक्षक संगठनले पार्टी सम्बद्ध नेता कार्यकर्ताले चलाएका देशभरका ७ सय निजी विद्यालय बन्द गर्ने भएको छ । पार्टीले 'साम्यवादी' सिद्धान्त र व्यवहारमा द्वैध चरित्र देखिएको भन्दै 'समानता' का लागि यस्ता स्कुल बन्द गर्न लागेको संगठनले जनाएको छ ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष गुणराज लोहनीका अनुसार संकलित तथ्यांकसहितको प्रतिवेदन पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव गरिनेछ । उनले पार्टी स्थायी समितिका तीन जनाले प्रत्यक्ष/ परोक्ष रूपमा निजी विद्यालयमा लगानी गरेको भेटिएको बताए । संगठनको अध्ययनमा जिल्ला तहका नेताले सबैभन्दा बढी निजी विद्यालय चलाएको भेटिएको छ ।
'पार्टीकै मान्छेले आफूले अंगालेको सिद्धान्तमाथि विश्वासघात गर्दा हामीले पटक-पटक गर्ने निजी विद्यालय विरुद्धको आन्दोलन प्रभावकारी हुन सकेन,' लोहनीले कान्तिपुरसित भने, 'हामीले पार्टी सम्बद्ध निजी स्कुल बन्द गरेर थप आन्दोलनका लागि नैतिक आधार बलियो बनाउनु परेको हो । आफू महँगा निजी विद्यालय सञ्चालन गर्ने दुनियाँका छोराछोरीलाई निजी विद्यालय नपढाउ भन्ने नैतिक आधार हामीसित छैन ।'
उनकाअनुसार सबैभन्दा बढी निजी विद्यालय रहेको उपत्यकामा करिब सयवटा माओवादी सम्बद्ध छन् । उपत्यकामा १५ सय निजी विद्यालय छन् । स्थायी समिति र केन्द्रीय समिति पदाधिकारीको निजी विद्यालयमाथिको लगानी 'क्रस चेक' गरिरहेकाले संगठनले नाम सार्वजनिक गरेको छैन ।

'निजी विद्यालय बन्द गर्ने अभियान आफ्नै पार्टी सम्बद्धबाट सुरु गर्न लागिएको हो । यो माओवादीले बोकेको सिद्धान्त र व्यवहारबीचको खाडल पुर्ने कोसिस हो,' उनले भने, 'पार्टीले ०६६ साउनमा जारी गरेको १५ बुँदे आचारसंहितामा निजी स्कुलमा नपढाउने र लगानी नगर्ने भन्ने थियो । त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने हाम्रो माग हो ।'
संगठनले जिल्ला तथा केन्द्रीय समितिमार्फत माओवादी सम्बद्धका विद्यालय पहिचानको काम गरेको हो । भूमिगत कालमै पनि विद्यालय चलाएका, पार्टी शान्ति प्रक्रियामा आएपछि लगानी गरेका तथा पार्टी एकीकरणमा आएकाहरूले चलाएका विद्यालयबारे अध्ययन गरिएको छ । केहीले आफन्तको नाममा लगानी गरेको लोहनीले बताए । अध्यक्ष लोहनीले 'बल प्रयोग' गरेर वा 'विस्थापन' गरेर निजी विद्यालय बन्द अभियान सफल पारी छाड्ने दाबी गरे । पार्टी सम्बद्धका विद्यालय बल प्रयोग गरेरसमेत बन्द गर्न सकिने उनले चेतावनी दिए । बन्द अभियान केन्द्रीय समितिबाट सुरु गरेर जिल्ला तहसम्म पुर्‍याइने उनले जनाए ।

'कम्युनिस्टहरू निःशुल्क, अनिवार्य, वैज्ञानिक, व्यावहारिक र सार्वभौम शिक्षाको सिद्धान्त लिएर हिँड्छन्,' लोहनीले भने, 'राज्यले शिक्षाको दायित्व लिनुपर्छ भन्ने अवधारणा हाम्रो हो ।'
माओवादी सम्बद्ध सञ्चालकले भने बन्द अभियानप्रति असहमति जनाएका छन् । सामाखुसीको फ्लोरिसेन्ट हाइस्कुलका संस्थापक माधव मरहट्ठाले सामुदायिक विद्यालयको स्तर विकास नगरी पार्टी सम्बद्ध स्कुल जबरजस्ती बन्द असम्भव रहेको प्रतिक्रिया दिए । 'संगठनले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनु राम्रो हो,' माओवादी बुद्धिजीवि संगठनका उनले भने, 'बलजफ्ती गरिने बन्दले समस्या निम्त्याउँछ ।'
निजी विद्यालयको संगठन प्याब्सनका सचिव डिके ढुंगानाले विचारका आधारमा शैक्षिक संस्थामाथिको आक्रमण प्याब्सनलाई मान्य नहुने बताए । उनले भने, 'विचार र आस्थाका लागि बीसौं वर्षदेखि चलेका विद्यालय बन्द सम्भव छैन । हामी त्यसको विपक्षमा छौं ।'
संस्थागत विद्यालय शिक्षक युनियन -इस्टु) ले भने संगठनको अभियानमा समर्थन जनाएको छ । इस्टु अध्यक्ष होमकुमार थापाले माओवादी सम्बद्धका मात्रै नभई देशभरका निजी विद्यालय राष्ट्रियकरण गर्ने अभियानमा सघाउने बताए ।
माओवादी प्रवक्ता दीनानाथ शर्माले पार्टी सम्बद्ध विद्यालय संख्या यकिन नभएको र निजी विद्यालय के गर्ने भन्नेबारे छलफल जारी रहेको बताए । 'निजी विद्यालयबारे पार्टीमा बहस भइरहेको छ, अहिले नै केही भन्न सक्ने अवस्था छैन,' उनले कान्तिपुरसित भने ।

माओवादीका शिक्षक र विद्यार्थी दुवै संगठनले निजी स्कुल बन्द गर्न पार्टी नेतामाथि दबाब दिइरहेका छन् । अखिल क्रान्तिकारीले अठारौं सम्मेलनमा देशभरका निजी विद्यालयबाट नेताका छोराछोरी यसै शैक्षिक सत्रदेखि निकाल्ने घोषणा गरेको एक सातापछि बसेको संगठनको केन्द्रीय समिति बैठकले निजी विद्यालयको नयाँ दर्ता रोक्ने चेतावनी दिएको थियो ।
आफू महँगा निजी स्कुल चलाउने अनि दुनियाँका छोराछोरीलाई निजी स्कुलमा नपढाउ भन्ने आधार माओवादीसित छैन
-गुणराज लोहनी
अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन
विचार र आस्थाका लागि बीसौं वर्षदेखि चलेका विद्यालय बन्द सम्भव छैन, हामी त्यसको विपक्षमा छौं
-डीके ढुंगाना, सचिव, प्याब्सन
निजी स्कुल बन्द अभियानमा हाम्रो समर्थन छ, माओवादी सम्बद्ध मात्र होइन सबैलाई राष्ट्रियकरण गर्नुपर्छ
-होमकुमार थापा
अध्यक्ष, संस्थागत विद्यालय शिक्षक युनियन
पार्टी सम्बद्ध स्कुलको संख्या यकिन छैन, निजी विद्यालयबारे माओवादीमा बहस जारी छ, अहिले केही नभनौं
-दीनानाथ शर्मा
प्रवक्ता, माओवादी
कान्तिपुरबाट

No comments:

विनाशकारी भूकम्प , चौथो अंग हिजो, आज र भोलि

हेमनाथ खतिवडा  राजधानीबाट नजिक रहेर पनि हरेक दृष्टिकोणले पिछडिएकोे जिल्ला हो, रसुवा । पूर्वाधार विकाससँगै सञ्चार क्षेत्र पनि अघि ब...